बुधबार, मंसिर २४, २०८२

गाह्रो !

सुनील सापकोटा २०८२ असार २८ गते १०:००

गाह्रो हुन्छ त्यो यात्रा
जहाँ यात्रीले दिशा बिर्सन्छ
र पाइलाले शून्य मापन गर्छ

गाह्रो हुन्छ त्यो साथ
जसको हाँसोमा आवाज हुन्छ
तर सामीप्यमा गन्ध हराएको हुन्छ

गाह्रो हुन्छ त्यो सम्बन्ध
जसले तिमीलाई हिजो सम्झन्छ
तर आजका लागि ढोका खोल्दैन

गाह्रो हुन्छ त्यो प्रेम
जहाँ स्पर्शभन्दा पहिला अहं टकराउँछ
र नजर भन्दा पहिला शंका उत्पन्न हुन्छ

गाह्रो हुन्छ जोगाउन त्यो पद र प्रतिष्ठा
जसको जग सम्झौताले बनेको हुन्छ
र संघर्षको चिह्न भित्तामा टाँसिएको हुन्छ

गाह्रो हुन्छ त्यो धर्म र संस्कृति
जहाँ आरतीको धूपले विवेकलाई छोप्छ
र प्रश्न गर्नु महापातक ठहरिन्छ

गाह्रो हुन्छ त्यो राजनीति
जहाँ जनताका सपना रित्तिन्छन्
र भाषणमा मात्र बाँच्छ मानवता

सबै भन्दा गाह्रो त त्यो बेला हुन्छ
जब हृदय फुट्छ आवाज विनै
तर आँखा बाट आँशु झर्दैन ..

प्रतिक्रिया