लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ७४५ ग्रामसहित भारतीय नागरिक २९ वर्षीया लियायोन फुङथार सोमबार दिउँसो पक्राउ परेकी छिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५४० ट्याब्लेटसहित सोही ठाउँ बस्ने दार्चुला महाकाली नगरपालिका-२ घर भएका २८ वर्षीय रमेश पार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार एरियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३५० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ३१ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुरको ललितपुर महानगरपालिका–१ कुपण्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र नगद ४४ हजार रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं थानकोट बस्ने सिन्धुपाल्चोक माङखा घर भएका २३ वर्षीया करूणा कोइराला र काभ्रेपलाञ्चोक गाठेडाँडा घर भएका २३ वर्षीय मनोज तामाङ रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले बा.४२ प ९७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १०० ट्याब्लेट र भोमाइन १०५ ट्याब्लेट सहित सोही नगरपालिका–१२ लक्ष्मीपुर बस्ने २३ वर्षीय प्रशान्त थापा मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया