घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै

नेपालखोज २०८२ असार ३२ गते १४:५३

पाल्पा । तानसेन नगरपालिका-९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समिति काठमाडौँद्वारा दिइएको घरबास पर्यटन विकाससम्बन्धी आधारभूत तालिमबाट सीप र ज्ञान प्राप्त गरेपछि गाउँमा होमस्टे सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्नेतर्फ यहाँका महिला लागेका हुन् ।

तालिममा पर्यटन र होमस्टे, होमस्टेको अवधारणा, कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार, पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकार निर्माण, स्थानीय कला र संस्कृतिको प्रदर्शनलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

तालिम लिएपछि सरिता आलेले नेपालका सफल होमस्टेको कथा सुन्दा आफ्नो गाउँलाई पनि त्यस्तै बनाउन सकिन्छ भन्ने आत्मबल र उत्साह जागेको बताए ।

नौमति बाजा समूहका अध्यक्ष ईश्वरी पृथीले आफूसँग भएका सांस्कृतिक सीप र दक्षतालाई पाहुनाको स्वागत र मनोरञ्जनमा लगानी गर्ने बताए । यहाँका ६६ मध्ये सुरुमा ११ घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए ।

पहिलो चरणमा ११ वटा घरबाट होमस्टे सञ्चालन गर्ने योजना अनुसार प्रारम्भिक तयारी थालिएको मदनपोखरा सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गाहाले बताए । होमस्टे सञ्चालनका लागि तालिमले महत्त्वपूर्ण र सहयोगी भूमिका खेलेको तालिममा सहभागी सरस्वती पचभैयाले विश्वास व्यक्त गरे ।

पर्यटनका लागि आवश्यक सडक पूर्वाधार, मनोरम दृष्य, समुदायको एकता र मौलिक संस्कृति डाँडाडुममा रहेकाले यहाँ होमस्टे सञ्चालन गर्न उपयुक्त मानिएको स्थानीय राजनीतिज्ञ ओमबहादुर घर्तीले बताए ।

डाँडाडुमका स्थानीयको सेवासत्कार, मौलिक संस्कृति र स्थानीय अर्गानिक उत्पादनका परिकारलाई घरबास कार्यक्रममार्फत बजारीकरण गर्न सकिने तानसेन–८ का वडाध्यक्ष सोमनाथ अर्यालले बताए ।

सामुदायिक घरबास कार्यक्रमले सामूहिक भावना, इमान्दार र मर्यादित अतिथिसत्कार र सुसंस्कृतिको सम्मान हुने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले उल्लेख गरे ।

सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारी, वडा सदस्य माधवप्रसाद बस्याल, कमल दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटीका अध्यक्ष गुँराश आत्रेय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वडा कमिटी अध्यक्ष हरिश्चन्द्र भुसाललगायतले आतिथ्य सत्कार, मौलिक परिकार र पाहुँनासँगको व्यवहारलाई प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धनमार्फत महिलाले आयआर्जन बढाउनुपर्नेमा जोड दिए ।

तालिमका प्रशिक्षक मनिसा श्रेष्ठले यहाँका समुदायको जागरुकता, जनप्रतिनिधिको सहयोग र पर्यटनमैत्री संस्कृति हेर्दा सञ्चालनको छोटो समयमा लोकप्रिय र सफल होमस्टे बन्न सक्ने विश्वास व्यक्त गरे । तारा गाउँ विकास समितिका प्रशिक्षक शम्भु कार्की, दिनेश भण्डारी र मनिसा श्रेष्ठले तालिममा सहजीकरण गरेका थिए । रासस

प्रतिक्रिया