आइतबार, मंसिर २८, २०८२

आइएमई पे र खल्तीको एकीकृत कारोबार सुरू

नेपालखोज २०८२ साउन १ गते १८:१६

काठमाडौं । आइएमई पे र खल्ती मर्ज भएर बिहीबारबाट ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ । बिहीबार एक कार्यक्रम आयोजना गर्दै दुई वालेट कम्पनी बीचको एकीकृत सेवा सञ्चालनबारे औपचारिक घोषणा गरिएको हो ।

झन्डै एक दशकदेखि विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै पहिचान बनाएका यी दुई वालेट कम्पनीले एक भई ‘खल्ती बाई आईएमई’ नाममा कारोबार सुरू गरेका छन् ।

आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवाहरूका लागि प्रख्यात छ । खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र इनोभेसनका कारण युवा पुस्ता माझ लोकप्रिय छ ।

डिजिटल भुक्तानीले वित्तीय पारदर्शीता बढाउने भएकाले हरेक क्षेत्रमा यसको लागु हुन जरुरी भएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।

आइएमई पेको यात्राले समावेशी वित्तीय सेवामा गहिरो आधार निर्माण भएको आइएमई पेका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । ‘खल्तीसँगको एकताबाट बनेको आइएमई खल्तीले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिनेछ,’ उनले भने ।

खल्ती र आइएमई पेको एकता नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम रहेको खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अबको मिसन र भिजन बारे बताउँदै डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता अनि समावेशीकरणका लागि थप योजनाहरू बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया