सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ । सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक व्यवस्थामार्फत सिँचाइ पुर्याइएको छ ।
जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)मा र मकवानपुरमा वैकल्पिक व्यवस्थामार्फत सिँचाइ पुर्याइएको हो ।
आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीका अनुसार चितवनमा चार सय हेक्टर, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)मा चार सय हेक्टर र मकवानपुरमा एक सय हेक्टर क्षेत्रफलमा डिपट्युबेल निर्माण सिँचाइको व्यवस्था गरिएको हो ।
‘गत आर्थिक वर्षमा सिँचाइका लागि ५० वटा डिपट्युबेल निर्माण सुरु गरिएको थियो । तीमध्ये ४६ वटा निर्माण सम्पन्न भएका छन् भने बाँकी निर्माणाधीन छन् । यी आयोजनाहरू सम्पन्न गर्न हालसम्म रु ३५ करोड खर्च भइसकेको छ’, उनले भने ।
निर्माण गरिएका ट्युबेलमध्ये नवलपरासीमा १८, चितवन २३ र मकवानपुरमा पाँचवटा रहेका इञ्जिनियर केसीले जानकारी दिए । चितवनमा २९ वटा ट्युबेल निर्माण गर्ने योजनाअनुसार काम गरिएको भन्दै केही निर्माणाधीन रहेका उनले बताए ।
कार्यालयले अघिल्लो आर्थिक वर्षसम्म चार हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको थियो । गत आर्थिक वर्षको उपलब्धिसँगै हालसम्म पाँच हजार २०० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुर्याइएको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया