बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटर नजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष नारदसिंह अर्यालले जानकारी दिए । उनले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ देखिएको बताए ।
बिहानै उखुबारीमा देखिएको बाघ नियन्त्रणमा आउन सकेको छैन, स्थानीय त्रसित छन्, उनले भने, अहिले निकुञ्जबाट हात्तीसहितको टोली आउँदैछ ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले उक्त उखुबारीमा चितुवा हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको बताए । हामीले कार्यालयबाट प्राविधिकसहित दुईवटा हात्तीसमेत उक्त क्षेत्रमा पठाएका छौँ, उनले भने, बाघभन्दा पनि हामीले चितुवा भएको आशङ्का गरेका छौँ, नियन्त्रणमा लिने प्रयास भइरहेको छ । उनले निकुञ्ज कार्यालय र नेपाली सेनाको टोली उक्त क्षेत्रमा खटिएको बताए ।

प्रतिक्रिया