जुङ्गे महादेव

नेपालखोज २०८२ साउन ७ गते १०:५१

आज साउन ५ गते महिनाको पहिलो सोमवार नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गे महादेव अर्थात् जुङ्गेश्वर महादेवको हालै बनाइएको अष्ट धातुको मूर्तिको प्राण प्रतिष्ठा हुँदै छ । यसै सन्दर्भमा यो लेख राखिएको हो ।

नेपालगन्जमा एक महादेव छन् जसको जुङ्गा छ । जुङ्गे महादेव वा जुङ्गेश्वर महादेवको नामले प्रख्यात यो मूर्ति नेपालमा एक मात्रै जुङ्गा भएको महादेवका रूपमा लिने गरिन्छ । हुन त गणेश बाहेक अन्य देवताहरूका जुङ्गा भएका तस्बिर तथा मूर्तिहरू मनग्गे देख्न सकिन्छ । भनिन्छ सुरुमा सबै देवताहरू दाह्री जुङ्गा नभएका सफा अनुहार भएका नै थिए । पछि विभिन्न देवताहरूका जुङ्गा राख्न थालियो । देवताहरूमा महादेवको निकै तस्बिर र मूर्ति भने जुङ्गा भएको नै भेट्न सकिन्छ । कुशाण कालको इश्वी पहिलो शताब्दीको गान्धारको शिवको मूर्तिलाई पहिलो शिवको मूर्ति भन्ने गरिन्छ ।

तीन शिर भएको यस मूर्तिमा महादेवको जुङ्गा राखेर बनाइएको छ । मूर्ति अध्ययन गर्ने विज्ञहरूका अनुसार बुद्धको मूर्तिमा जुङ्गा राखेर परिवर्तन गरेर महादेव वा शिवको सिर्जना गरिएको भन्ने लेखिएको भेटिन्छ । यसरी बुद्धलाई शिवमा परिवर्तन गरेका थिए । त्यसैले करिब दशौँ शताब्दी सम्म बनाइएका शिवका मूर्तिहरूमा जुङ्गा राखिए । तर पछि शिवका अनगिन्ती कथाहरू बनिसकेपछि शिवकै अस्तित्व प्रति विश्वास बढ्दै गयो । र शिवको मूर्तिबाट जुङ्गा हटाउन थालियो । तर पनि भारत र नेपालका केही शिवका मूर्तिहरूमा जुङ्गा रहेको पाउँछौ । यस्तै नेपालगन्जको महादेवको मूर्तिमा पनि जुङ्गा राखिएको छ यसैले यस महादेव, जुङ्गेश्वर महादेवको नामले प्रख्यात भएको छ । उभिएको महादेवको मूर्ति भएको हुँदा यस महादेवलाई खडेश्वर महादेव पनि भन्ने गरिन्छ ।

नेपालगन्जको जुङ्गे महादेवको कथा भने केही भिन्न सुन्न पाइन्छ । जङ्गबहादुर लखनउ युद्धबाट फर्किदा हालको नेपालगन्जको बाटो फर्किएका थिए । जङ्ग फर्किएको केही समय पछि नै भारतमा रहेको अङ्ग्रेज सरकारले नयाँ मुलुकका रूपमा रहेको तराइका चार जिल्ला नेपाललाई फिर्ता गरे । यसरी फिर्ता पाएको नयाँ मुलुकको बाँकेमा जङ्गले नयाँ सहर बनाउने निधो गरे । भारतमा जहाँतहीँ सहरका नामका पछाडि गन्ज सुनेका उनले बाँकेमा नेपालगन्ज बनाउने निधो गरे । जस अनुसार नयाँ मुलुकका पहिलो बडाहाकिम सिद्धिमानसिंह राज भण्डारीलाई जङ्गले सहर बसाउने आदेश दिएरै पठाएका थिए । सो समय बाँके गाउँको सुब्बा भने पद्मनाथ जोशी थिए । यसैले सिद्धिमानसिंहले पद्मनाथलाई नेपालगन्ज सहर बसाउने जिम्मा दिए । यिनै पद्मनाथले नै ३६० कोठी बनाएर नेपालगन्ज सहरको शुभारम्भ गरेका थिए । पछि यिनका छोरा शिवप्रसाद जोशीले सहर बसाउने कार्यमा निरन्तरता दिए ।

यसरी सहर बसाउँदा रानी तलाउ पनि बनाइएको थियो । साथै तलाउ किनारमा लोकभक्तेश्वर महादेवको मन्दिर पनि बनाइएको थियो । तर यो मन्दिर पछि १९९० सालको भूकम्पमा भत्कियो । हाल सो मन्दिर गुम्बज शैलीमा सानो आकारमा देख्न सकिन्छ ।

यस्तै नेपालगन्जका बडाहाकिमका रूपमा २००६ सालतिर श्री ३ देव शमशेरका छोरा प्रकाश शमशेर जबरा आइपुगेका थिए । उनले बागेश्वरी मन्दिर परिसरमा रहेको सिद्ध पोखरीको मर्मत गर्नुका साथ साथै पोखरीको बिचमा महादेवको मन्दिर बनाउन लगाए । मन्दिरमा महादेवको मूर्ति राख्नुपर्ने भएपछि उनले लखनउबाट मुस्लिम कालिगडलाई बोलाएर ल्याए । कालिगडलाई सिद्ध पोखरी बिचमा रहेको सानो मन्दिरमा उभिएको महादेवको मूर्ति बनाउन लगाइएको थियो । मूर्ति बनाउँदा उनले कुनै फलामका रडहरू प्रयोग नगरी सन्तुलन मिलाएर उभिएको मूर्ति बनाउन थाले ।

मूर्तिको अन्य अंग बनाउन खासै अप्ठ्यारो नभए अन्तमा अनुहार बनाउने बेलामा मुस्लिम कालिगड असमञ्जसेमा परे । धेरै सोचे के गर्ने कसो गर्ने । अन्तमा उनले महादेवको जुन किसिमको अनुहार बनाए । त्यो अन्य भन्दा भिन्न थियो । अनुहारमा मुठे जुङ्गा थियो । साथै अनुहारमा राणाजीहरूको रोब देखिन्थ्यो । शायद उनलाई मूर्ति बनाउन लगाउने राणाजीको रोब देखेर होला महादेवमा पनि अलग्गै रोब देखिएको । कसै कसैले महादेवको अनुहार र जुङ्गा पनि बडाहाकिम प्रकाश शम्शेरसंग मिल्दोजुल्दो बनाइएको पनि भन्ने गर्दछन् । खैर यस सुनेका कुरालाई प्राथमिकतामा नराखौँ । तर पनि अनुहार हेर्दा हामीले सोच्ने वा अन्यत्र देखेका महादेवको झैँ अनुहार भने देखिँदैन ।

यस अर्थमा भनौँ भने जुङ्गे महादेवको उमेर ७६ वर्षको भयो । तर जुङ्गे महादेवको मन्दिरको पुनर्निर्माण पछि भने महादेवको मूर्ति परिवर्तन गर्ने चर्चा सुरु भयो । कतिले जीर्ण भएको यहीँ मूर्ति नै मर्मत गरेर राख्नु पर्ने भनियो । कतिले नयाँ मूर्ति राख्नुपर्ने भनियो । अन्तमा नयाँ मूर्ति बनाउने निर्णय पारित भए पछि नयाँ जुङ्गे महादेवको मूर्ति बन महादेव दर्शन गर्न जाने र दर्शन गरिसकेका फर्कने दुई अलग अलग पुल बनाउने योजना छ । महादेवको बायाँ तर्फ पोखरीको बिचमा फोहरा पनि बनाउने योजना रहेको छ ।

हेरौँ तस्बिरहरूमा जुङ्गे महादेव । पहिलो २०३० सालको र दोस्रो २०८२ सालमा प्रतिस्थापन गरिएको नयाँ जुङ्गे महादेवको मूर्तिको भिन्नता यहाँहरूले देख्न सक्नुहुन्छ । साथै कुन उपयुक्त देखिन्छ पनि भन्न सक्नुहुन्छ ।

प्रतिक्रिया