तराई-मधेसमा खानेपानी र सिँचाइका लागि युद्धस्तरमा काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपालखोज २०८२ साउन ७ गते १७:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

‘यो सरकार राष्ट्रका सामुु देखापरेका चुनौतीहरुको सामना गर्न लागेको छ । स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो सङ्कल्प रहेको छ । अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छभने तराई-मधेस सुक्खा समस्याले ग्रस्त छ । यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरु चालेको छ’, ओलीले भने ।

प्रतिक्रिया