बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै

गलकोट (बागलुङ) । मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका–९ पैयूथन्थापमा ठूलो बाढी आयो । गत असार २४ गते रातिको बाढीका कारण २५० रोपनी खेत, एक दर्जन खानेपानीका मुहान, सिँचाइ कुलो र केही घर गोठमा क्षति पु-यायो ।
उक्त बाढीको मुख्य कारण अव्यवस्थित ग्रामीण सडक थियो । सडक खन्दा फालिएको माटोसहितको लेदोले खोला थुनिएका कारण बाढी आएर केही समयअघि कालुङखोला आसपासको क्षेत्रमा ठूलो क्षति पु-याएको थियो । यस्ता अव्यवस्थित सडकका कारण बागलुङका अधिकांश खोलानालामा बाढीको जोखिम छ ।
हचुवाको भरमा खनिएका ग्रामीण सडकका कारण भू–क्षयका घटना बढिरहेका छन् । एक अध्ययनले जिल्लाबाट बर्सेनि ८ लाख २२ हजार ६२१ टन टन माटो भू–क्षयका कारण बगेर गएको तथ्याङ्क प्रस्तुत गरेको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जिल्लामा खेतीयोग्य जमिन, वन, खोलानाला जमिनको नक्सा तयार गरेर माटो बगेको अवस्था पत्ता लगाएको हो ।
संशोधित विश्वव्यापी माटो क्षति समीकरण (रिभाइज्ड युनिभर्सल सोइल लस इक्वेशन) विधिमार्फत माटो बग्ने मात्रा पत्ता लगाइन्छ । सोही विधि प्रयोग गरी सो तथ्याङ्क पत्ता लागेपछि भू–तथा जलाधार व्यवस्थापन कार्यालयले चिन्ता व्यक्त गरेको छ ।
कार्यालयले स्थानीय तहले नीतिगत रुपमै भू–क्षय नियन्त्रणको योजना बनाएर कार्यान्वयन गर्न नसके ठूलो दुर्घटना निम्तिन सक्ने जनाएको छ । धौलागिरिको चार र कास्कीका गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले भू–क्षय नियन्त्रणका लागि स्थानीय तहले नीतिगत रुपमै सुधार नगरे ठूलो विनाश ल्याउने जनाएको हो ।
कार्यालयका प्रमुख तथा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रका अनुसार भू–क्षय नियन्त्रणका लागि हाल भइरहेको विकास निर्माण मुख्य बाधक हो । उनले बायोइञ्जिनियरिङमा ध्यान दिन स्थानीय तहसँग सहकार्य गर्दै अघि बढेको बताए । स्थानीय तहले विकास निर्माणका लागि पूर्वाधारको लागत तयार गर्दा बायोइञ्जिनियरिङ अर्थात हरित व्यवस्थापनमासमेत रकम छुट्याउन सकेमा भू–क्षय नियन्त्रण हुने मिश्रको भनाइ छ ।
पाँच लाखको ग्याबिन जालीको काम गर्दा ग्याबिन जाली वरपर ५० हजार खर्चेर वृक्षरोपण गर्न सकेमा ग्याबिन जाली बग्न नसक्ने उनले बताए । जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुनले बायोइञ्जिनियरिङ अन्तर्गत विकास गर्ने नीति ल्याउने बताए । -रासस

प्रतिक्रिया