शून्य समयमा सांसदद्वारा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले सडक, सिँचाइ, जलवायुको जोखिम, मलखाद, बालबालिकामाथि हुने दुव्र्यवहार, मुलुकका राष्ट्रिय समस्या र किसानले व्येहोरिरहेका विभिन्न समस्यालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद सराज अहमद फारुकीले कपिलवस्तुमा आर्थिक विकासको कमी, पूर्वाधारको अभाव, शिक्षा र बेरोजगारीको समस्या रहेको तथा सामाजिक असमानता, जातीय भेदभाव र राष्ट्रिय एकताको चुनौती, प्राकृतिक विपद्को जोखिम रहेको भन्दै यसको समाधानका लागि तीनै तहका सरकारको प्रभावकारी समन्वय आवश्यक पर्ने आवश्यकता औँल्याए ।
सांसद सरिता भुसालले डिजिटल कारोबार गर्नेलाई विदेशी मुद्रा भित्र्याउन कठिनाइ भइरहेको भन्दै सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद शान्ति चौधरीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को स्मार्टकार्ड तथा राष्ट्रिय परिचयपत्र नागरिकले समयमा पाउन नसकेका भन्दै शीघ्र र सहज रूपमा पाउने व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सीताकुमारी रानाले आज पनि देशका विभिन्न ठाउँमा निर्दोष बालबालिकामाथि हुने हिंसा, श्रम शोषण, यौन दुव्र्यवहारलगायत घटना बढिरहेका भन्दै यस्ता निन्दनीय कार्यले उनीहरूको भविष्यमाथि खेलबाँड भइरहेकाले बालबालिकामाथि हुने सबै प्रकारको भेदभाव र हिंसाजन्य गतिविधि अन्त्य गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सीता मिजारले जलवायु परिवर्तनका कारण वर्षा नहुनु, देशभर सर्पदंशका घटना बढ्नुलगायत समस्या भइरहेको बताउँदै सर्पदंशका बिरामीले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाइरहेकाले सहज उपचार सेवा विस्तार गर्न माग गरे ।
उनले सर्पदंशका कारण अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रत्येक गाउँपालिकामा सर्पदंशको सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुनिता बरालले आजभोलि आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भन्दै नेपाल प्रहरीमा भएको आर्थिक वर्ष २०८१/८२ को तथ्याङकअनुसार एक वर्षमा छ हजार १०२ जनाले आत्महत्या गरेका जानकारी दिइन् । उनले झुण्डिएर आत्महत्या गर्नेकोसङ्ख्या मात्रै पाँच हजार १०० रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई साइबर सुरक्षासम्बन्धी शिक्षा र मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन अपरिहार्य भएको बताए ।

प्रतिक्रिया