तराई-मधेसमा देखिएको सुक्खा समस्या समाधानमा सरकार लागेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसले अहिले सुक्खाको समस्या भोगिरहे पनि बारा जिल्लामा धान रोपेको खेत देख्दा आफूलाई खुसी लागेको बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज तराई-मधेसमा सुक्खाले समस्या बनाएको छ, यद्यपि बारामा आइपुग्दा धान रोपेका खेत देख्न पाउँदा खुसी लागेको छ ।’ उनले दुई दिनअघि मात्रै सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको पनि बताए ।
प्रधानमन्त्री ओलीले तराई-मधेसमा सिँचाइ र खानेपानीको प्रबन्धको लागि डिप बोरिङलगायत योजना अघि सारिएको पनि बताए । प्रधानमन्त्री ओलीले तराई-मधेसको सुक्खाग्रस्त क्षेत्रको दीर्घकालीन रुपमा चुरेको संरक्षण र सम्वर्द्धनका लागि ठूलठूला तालतलैयाहरुको निर्माण अबको आवश्यकता रहेको औँल्याए ।
प्रधानमन्त्री ओलीले सुनकोशी मरिण डाइभर्सन सम्पन्न भएपछि यहाँको देखिएको सिँचाइको समस्या धेरै हदसम्म समाधान हुने बताए ।

प्रतिक्रिया