सुक्खा संकटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त मधेश प्रदेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
सरकारले मधेश प्रदेशलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै आज मन्त्रालयमा बसेको आपत्कालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले ढिलो नगरी तत्काल राहतको उपाय अवलम्बन गर्न निर्देशन दिएका हुन् ।
उनले मधेश प्रदेशका आठ जिल्लामा अहिले खानेपानी र सिँचाइको समस्या भएकाले तत्काल उक्त समस्या समाधान गर्न कार्ययोजना बनाएर १५ दिनभित्र समस्या समाधान गर्नुपर्ने बताए ।
सिँचाइका लागि डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउनेजस्ता उपाय तत्काल सुरु गर्नुपर्ने उनले बताए ।
ढिलो रोपाइँ गर्नु परे पनि कम पानीमा उच्च उत्पादन दिन सक्ने उन्नत जातका धानको बीउ तथा आवश्यक कृषि उपकरणको प्रयोगलाई प्रोत्साहन दिनुपर्ने उनको भनाइ थियो ।
सिँचाइका साथै खानेपानीका लागि पनि आवश्यक संयन्त्र र साधन प्रयोग गरेर जनतालाई सहजता दिनुपर्ने मन्त्री खड्काले बताए ।
बैठकमा मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए । -रासस

प्रतिक्रिया