स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

नेपालखोज २०८२ साउन २१ गते २०:४९

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षाकोठा भवनलगायत पूर्वाधार पहिरोले बगाएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरू भएको पहिरो करिब ६०० मिटर माथि रहेको विद्यालयसम्म पुगेको हो । धाँजा फाटेर चिराचिरा परेको जमिन निरन्तर बगिरहेको छ ।

पुरानो भवन पहिरोको जोखिममा परेपछि करिब २०० मिटरमाथि किमबोटमा अस्थायी भवन बनाएर शैक्षिकसत्र २०८२ देखि पठनपाठन सञ्चालन गरिएको थियो । हाल विद्यालय सञ्चालन भएको पाखोमा पनि जमिन धाँजा फाटेर चिरा पर्न र बग्न थालेपछि जोखिम बढेको प्रअ नवीन कार्कीले बताए ।

पहिरो रोकथामका लागि स्थानीयवासी र विद्यालयले त्रिपालले छोपेर राखेका छन् । विद्यालय स्थानान्तरण गरेपछि खाली भएको भवनमा शिक्षकले आवासका रूपमा प्रयोग गर्दै आएका थिए । चार/चार कोठे दुईवटा पक्की भवन जमिन चर्किएपछि ढल्ने अवस्थामा छन् । ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । पहिरोले विद्यालयमा रु तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको प्रअ कार्कीले बताए ।

किमबोटमा आव २०८१/८२ मा मालिका गाउँपालिकाको रु २० लाख अनुदानमा अस्थायी कच्ची भवन बनाएर विद्यालय स्थानान्तरण गरिएको थियो । तेह्र कोठे नयाँ भवन नजिकै पनि पहिरोले जमिन धाँजा फाटेर चिरा, चिरा पर्न थालेकाले जोखिम बढेको प्रअ कार्कीले बताए ।

विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० जना विद्यार्थी छन् । ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाइले नौ रोपनी, तीन आना, तीन दाम, दुई पैसा क्षेत्रफल जग्गा उपलब्ध गराएका थिए ।

ओखरबोट पूर्वउपप्रधानमन्त्री एवं गण्डकी र लुम्बिनीका पूर्वप्रदेश प्रमुख शेरचनको जन्मथलो हो । शेरचन दाजुभाइले सरकारीको मापदण्डअनुसार रु ४४ लाख ७७ हजार मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराए पनि बजेट र योजनाको अभावमा उक्त जग्गामा भवन निर्माण हुन नसकेको प्रअ कार्कीले बताए ।

प्रतिक्रिया