छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु, एक घाइते

नेपालखोज २०८२ साउन २५ गते २१:३६

बरहथवा (सर्लाही) । जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज यहाँको बरहथवा र हरिवनमा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बरहथवा नगरपालिका–१६ मा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कबिलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिर रहनुभएको छ । खोला तरेर खेतमा जाने क्रममा उनी बेपत्ता हुनुभएकामा प्रहरीसहित स्थानीयले खोजी गर्दा बरहथवा—१९ र चक्रघट्टा गाउँपालिकाको सीमास्थित लखन्देही खोला किनारमा मृत फेला परेका इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

यसैगरी हरिवन नगरपालिका–१०, सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार १४ वर्षीया दिपीका बुढाथोकीको मृत्यु भएको हो । प्रदेश ०२–०३–०१९ प ५४०८ नं को मोटरसाइकलले बालिका सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् । -रासस

प्रतिक्रिया