सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

दोधारा चाँदनी(कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व-पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो ।
नगर प्रवक्ता पदमराज अवस्थीले उज्यालो भीमदत्त बनाउने अभियानअनुसार पालिकाले पूर्व–पश्चिम राजमार्गमा एक सय १५ वटा सडकबत्ती जडान गरेको जानकारी दिए।
प्रवक्ता अवस्थीले भीमदत्तलाई उज्यालो नगर बनाउने लक्ष्यअनुसार पालिकाले १९ वटै वडामा सडक सौर्यबत्ती जडान गर्ने तयारी गरेको बताए। उक्त सौर्यबत्ती जडानका लागि रु ६९ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।
पालिकाले दोस्रो चरणमा रु २२ लाख ८२ हजार ४२० मा ठेक्का सम्झौता गरेको छ । जसअन्तर्गत गड्डाचौकीबाट भुजेलासम्म ३० वटा सडकबत्ती जडान भइसकेका नगरपालिकाले जनाएको छ । नागरिकको सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएको उनले बताए।
एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजारलाई आधुनिकीकरण गरिएका हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लगानीमा आधुनिक सडक निर्माणसँगै नगर क्षेत्रमा ‘हाइमास्टलाइट’ जडान गरिएको नगरका सब–इञ्जिनियर पवन लेखकले जानकारी दिए।
“नगरका मुख्य सडकमा ७७६ वटा लाइट जडान भएका छन्”, उनले भने, “बजारमा मात्रै आठ वटा हाइमास्टलाइट जडान गरिएका छन् ।” उनले बजार सौन्दर्यीकरणका लागि गल्लीमा रहेका बिजुलीका खम्बा र टेलिफोनका तार गल्लीको पछाडि भागमा व्यवस्थित गर्न लागिएको बताए।
राजमार्गसहित नगरका क्षेत्रमा बत्ती जडान भएपछि बिहानको समयमा क्याम्पस जाने विद्यार्थीलाई सहज भएको स्थानीय बताउँछन् ।
उनले सडकबत्तीले यहाँका नागरिकलाई रातिको समयमा आवागमनमा सहज भएको उल्लेख गरे । राजमार्ग क्षेत्रमा सडकबत्तीले झिलिमिली भएपछि विद्यार्थी र सवारीसाधनलाई यात्रा गर्न सहज हुनुका साथै दुर्घटनाको जोखिम कम भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया