युवालाई लागुऔषधबाट बचाउन सशक्तीकरणका कार्यक्रम ल्याएका छौं : मुख्यमन्त्री शाह

नेपालखोज २०८२ साउन २७ गते १९:३७

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई लागुऔषधबाट बचाउनका लागि सरकारले सशक्तीकरणका कार्यक्रमहरू ल्याएको बताएका छन् । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा प्रदेश युवा परिषद्ले आज कैलालीको बर्दगोरियामा आयोजना गरेको कार्यक्रममा उनले युवा लागुपदार्थ दुव्र्यसनीमा फस्दै गएकाले यसको नियन्त्रण जरूरी रहेको बताए ।

नेपाली जनताको हकअधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरू रूपान्तरणको संवाहक भएको बताए । अहिलेको युवावर्गसँग जोडिएर सरकार अगाडि बढ्न चाहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उनले युवा शक्तिलाई सुदूरपश्चिमको विकास र समृद्धिसँग जोड्ने कुरामा सबै मिलेर अगाडि बढ्न आह्वान गरे ।

कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्काले युवा शक्तिहरूलाई कसरी नेपालमै टिकाउन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, सुदूरपश्चिम प्रदेश सदस्य सन्तोषी थापा, पूर्वमन्त्री नारदमुनि राना, गौरीशङ्कर थारु, पूर्वराष्ट्रियसभा सदस्य कमला वली, प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार, बर्दगोरीया गाउँपालिका अध्यक्ष कर्ण कुँवरलगायतले सम्बोधन गरे ।

कार्यक्रममा कृषि क्षेत्रमा योगदान गर्ने बर्दगोरीया गाउँपालिका–५ का कृषक कमलदेव चौधरी र विज्ञान क्षेत्रमा योगदान पुर्‍याएको भन्दै खगोलविज्ञ अरुण लोहारलाई जनही रु १० हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अरुणलाई बर्दगोरीया गाउँपालिकाले एक थान ल्यापटप र प्रदेश सरकारले प्रोत्साहनस्वरूप रु एक लाख प्रदान गर्ने घोषणासमेत गरेको छ । -रासस

प्रतिक्रिया