इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

बग्दाद । इराकको राजधानी बग्दादको पूर्वी क्षेत्र उरमा बुधबार बिहान एक निजी घरमा भयावह आगलागी हुँदा एकै परिवारका सात जना सदस्यको मृत्यु भएको छ ।
नागरिक सुरक्षा विभागका प्रवक्ता अला मोहम्मदले जानकारी दिँदै भने,हामीले तत्काल उद्धार टोली परिचालन गरेका थियौं, तर आगो यति छिटो फैलियो कि पीडितहरूलाई बचाउन सकिएन । यद्यपि, आगो नियन्त्रणमा ल्याएर वरपरका अन्य घरहरूमा फैलिनबाट जोगाइएको उनले बताए ।
आगलागीको कारण पत्ता लगाउनका लागि आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
इराकमा पछिल्लो समय गर्मीको तीव्र लहरका कारण यस्ता घटनाहरू दोहोरिइरहेका छन् । देशका विभिन्न भागमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि आगलागीका घटना बढेका छन् ।
यसअघि, साउनको पहिलो साता इराकको वासित प्रान्तको राजधानी कुतस्थित एक ठूलो सुपरमार्केटमा भएको आगलागीमा कम्तीमा ६१ जनाको मृत्यु भएको थियो । त्यसको केही दिनपछि बग्दादकै पूर्वी क्षेत्रमा भएको अर्को घरमा आगलागी हुँदा चार जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया