बाढी अपडेट : थप आठ घर बगाएको पुष्टि

बाजुरा । बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ ।
तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा र रविलाल बुढाको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताएका छन् ।
बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताए ।
बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित ६० बाख्रा र भीमराज बोहराको बाख्राखोरसहित १० बाख्रा बगाइसकेको छ ।
बाढीका कारण यहाँका सात घर पूर्ण क्षति भएका छन् भने १७ घर पूर्ण जोखिम, सरकारी तथा आठ वटा सार्वजनिक कार्यालय जोखिममा परेका छन् ।
बाढी प्रभावितलाई सुरक्षित ठाउँ सारिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताएका छन् । अहिले पनि वर्षा भइरहेकाले बाढीको जोखिम अझै रहेकाले प्रभावितलाई सुरक्षित रहन र बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।
उनीहरुलाई राहत वितरण र पुनःस्थापनाका लागि काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । -रासस

प्रतिक्रिया