‘नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छ’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्ने बताएका छन् ।
भक्तपुरमा आज आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा अध्यक्ष दाहालले चाँगुनारायणमा सञ्चालन भएको एभोकाडो अभियानबाट सबै स्थानीय तहले सिक्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले मौलिक नमूनासहितको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र अपरिहार्य रहेको बताए ।
देशमा मौलिक अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने र नक्कल गर्ने प्रचलन बढेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको संस्कृति, भाषा एवं देशप्रति गर्व गर्ने मानसिकताको विकास हुन नसक्नु आजको चुनौती रहेको बताए ।

प्रतिक्रिया