मधेस प्रदेशमा ‘आरटीडिएफ’ परियोजना आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तुलनात्मक रूपमा धेरै जनसङ्ख्या भएको मधेस प्रदेशमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ) परियोजना लागू गर्न आवश्यक रहेको बताएका छन् ।
आज यहाँ ग्रामीण दूरसञ्चार विकास कोषमार्फत गण्डकी र लुम्बिनी प्रदेशमा ‘अप्टिकल फाइबर नेटवर्क’ विस्तार परियोजनाको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा उनले मधेस प्रदेशका कतिपय दुर्गम ठाउँमा सो कोषको परियोजना आवश्यक रहेको बताए ।
‘मधेसमा जनसङ्ख्या धेरै छ, त्यहाँ नेपाल टेलिकमको टावर कम छ’, उनले भने, ‘हाम्रो आरटीडिएफको परियोजना दुर्गम क्षेत्रमा मात्र केन्द्रित भयो, अब अभाव र आवश्यकताका आधारमा परियोजना लागू गर्न नीति परिमार्जन जरुरी छ ।’
मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सेवामा छरितोपन ल्याउन ‘डिजिटाइजेसन’ हुनुपर्ने बताए । मन्त्री गुरुङले ‘एआई’को विकास गर्न आवश्यक संरचना अभाव भएकाले ‘डाटा सेन्टर’ प्रभावकारी बनाउन जनशक्तिको आवश्यकता औँल्याए ।

प्रतिक्रिया