‘करिब ६५ वर्ष अगाडि खिचिएको तस्बिरमा माटे पानी क्षेत्रमा औलाले गन्न सकिने घर देख्न सकिन्छ’

सुनिल उलक २०८२ साउन ३१ गते १३:३१

काठमाडौं । हाल गुरुङको बाहुल्यता रहेको माटे पानी क्षेत्रमा कुनै बेला खासै घर नै थिएनन् भन्नु पर्दा कतिपयलाई विश्वास नै लाग्दैन होला । करिब ६५ वर्ष अगाडि खिचिएको यस तस्बिर मा माटे पानी क्षेत्रमा औलाले गन्न सकिने घरहरू देख्न सकिन्छ । साथै बिचमा बायाँ तर्फ केही घरहरू देखिन्छ, जुन त्यति बेलाको सोल्डर्स वार्ड हस्पिटल हो । जुन पछि गण्डकी अस्पताल भयो भने अचेल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विशाल भइसकेको छ । 

बिचमा दुई चौताराका बिचमा शीतला देवीको मन्दिर रहेको छ, जुन मन्दिरका कारणले यो क्षेत्र शीतलादेवीकै नामले परिचित हुन पुगेको छ । यस मन्दिर स्थापनाको भिन्न कथा छ । जुन धेरैलाई थाहा नहुन सक्छ । 

राजा रणबहादुर शाहको समयकलामा बि.सं. १८५४ तिर उपत्यकामा बिफरको ठुलो प्रकोप फैलिएको थियो । बिफरको प्रकोपले आफ्नो प्रिय कान्छी रानी कान्त तीबाट भर्खर जन्मिएका छोरा गीर्वाणलाई युवराज समेत घोषणा गरेका थिए । विधवा ब्राम्हणी कान्तवतीसँग विवाह गर्नु अगाडि बौलाहा राजा रणबहादुर शाहले विवाह पछि जन्म हुने छोरालाई राजा बनाउने बचन समेत दिएका थिए । यही बेला बिफरको प्रकोप बढ्न जाँदा आफ्नो नाबालक छोरा गीर्वाणलाई बिफर सर्ने डरले उपत्यकामा भएका बालबालिकाहरूलाई देश निकाला गर्ने निकै कुर्र निर्णय गरेका थिए ।

प्रत्येक घरमा बिफरको प्रकोपले बालबालिकाहरूको लगातार मृत्यु भइरहेको भयावह अवस्थामा राजाको आदेश पालना गर्न बाबुआमा बाध्य भएका थिए । यसरी उपत्यका छोड्नुपर्दा बाबुआमाले साना छोराछोरीलाई पिटिउमा र कमरमा च्यापेर, अलि ठुला भएकालाई हातले डोहोर्याउदै घर त्यागेर बाहिरिन बाध्य भएका थिए । त्यस बेला सैनिकहरूले बालबालिकाका साथ अविभावकहरुलाई समेत पूर्वमा तामाकोशीसम्म र पश्चिममा मर्स्याङ्दी कटाएका थिए । पोखरामा रहेका कैयौँ नेवार परिवार यही समेत आएको पाउँछौ । 

यसरी पोखरामा पुगेका नेवार समुदाय पोखरामा रहन थाले । पोखरा पुगेर पनि बिफरको प्रकोप यथावत् रह्यो । अझ भनौँ भने ती बालबालिकाका कारणले पोखरामा पनि बिफर फैलिन थाल्यो । यहाँ रहने अन्यलाई पनि बिफर लाग्न थाल्यो । भनिन्छ, सेन राज्यका एक निसान थरका सैनिकलाई बिफर लागेपछि सपनामा शीतलादेवीले आफ्नै जग्गामा पूजा गर्नु भनेपछि उनले मठ बनाएर पूजा गरेपछि बिफरबाट निको भएको र सोही मठमा पछि कार्कीहरूले मन्दिर बनाएको विश्वास गरिन्छ । यो मन्दिरको निर्माण भने निकै पछि बि.सं. १९८९ मा मात्र बनेको देखिन्छ ।

उपत्यकामा पहिले देखि नै शीतला माजुको पूजा गरेर बालबालिकाको स्वास्थ्य रक्षा हुने विश्वास गरिन्थ्यो । उपत्यकामा शीतला माजुलाई प्यानो अजिमा भनिन्छ भने अन्यले हाताहाती भन्ने गर्दछन् । तर भारतीय देखासिकी यो देवीलाई शीतलादेवी भन्ने गरिन्छ । भारतमा निकै ठाउँमा शीतलादेवीको मन्दिर भेट्न सकिन्छ तर नेपालमा भने निकै कम भेटिन्छ ।

प्रतिक्रिया