जेनेभालाई पुटिन्जेलेन्स्की शिखर सम्मेलन आयोजना गर्न म्याक्रोनको सुझाव

काठमाडाैं । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले जेनेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको शान्ति शिखर सम्मेलन आयोजना गर्नसक्ने सुझाव दिनुभएको छ ।
सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपतिसँग भएको उच्चस्तरीय बैठकपछि म्याक्रोनले जेलेन्स्की-पुटिन शिखर सम्मेलन युरोपमै हुने जानकारी दिएका थिए ।
फ्रान्सेली समाचार च्यानल ‘एलसीआई’ मा मङ्गलबार प्रसारित अन्तर्वार्तामा म्याक्रोनले भने, ‘यो कुनै तटस्थ देशद्वारा आयोजना हुनेछ, सायद स्विट्जरल्याण्ड-म जेनेभाका लागि दबाब दिइरहेको छु-वा अर्को देश ।’
म्याक्रोनका अनुसार फ्रान्स र बेलायतले मङ्गलबार अन्य युक्रेनी सहयोगीहरूसँग वासिङ्टनमा बैठक गर्नेछन् । बैठकको उद्देश्य युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे अद्यावधिक रहनु हो । यो विषय ट्रम्पसँगको भेटघाटको मुख्य एजेन्डा हो ।
‘त्यसपछि हामी अमेरिकीहरूसँग ठोस काम सुरु गर्नेछौँ । भोलिसम्म हाम्रा कूटनीतिक सल्लाहकारहरू, मन्त्रीहरू र कर्मचारी प्रमुखहरूले के गर्न तयार छन् भनेर काम सुरु गर्नेछन्’, म्याक्रोनले भने ।

प्रतिक्रिया