नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

नेपालखोज २०८२ भदौ ७ गते १०:३८

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् ।

घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य हुने बताए ।

सुगौली सन्धिको सीमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए । सरकारको कार्यक्षमता र उपलब्धिबारे नेता पोखरेलले भने, ‍‘अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ । राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ ।’

यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिए । महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए । उनका अनुसार साढे छ लाख सदस्य छलफलमा सहभागी हुनेछन् ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनु उचित नरहेको बताए ।

प्रतिक्रिया