पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीजलाई विकृत बनाएको छ : उपाध्यक्ष भुसाल

नेपालखोज २०८२ भदौ ८ गते १९:३८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई पुँजीपतिको व्यापारिक प्रवृत्तिले विकृत बनाएको बताइन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले आज यहाँ आयोजना गरेको ‘तीज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष भुसालले नाफा कमाउन बजारमा लामो समयसम्म व्यापार गर्ने, तडकभडकलाई प्रोत्साहन दिने र मौलिक संस्कृतिलाई मेट्ने कार्य बढिरहेको बताइन् । यस्तो प्रवृत्तिलाई रोक्न जरुरी रहेको उनको भनाइ थियो ।

उपाध्यक्ष भुसालले समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने सोच कायम रहेको उल्लेख गर्दै तीजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा पनि बुझ्नुपर्ने धारणा राखिन् ।

उनले तीजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारप्रतिको सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया