जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उनको घर भत्काएको हो ।
सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताए । उनका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न नष्ट भएको छ ।
हात्तीले घरभित्रको खाद्यान्न खानुका साथै घर भत्काएपछि भाट परिवारको विचल्ली भएको छ । ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीका अनुसार यही भदौ ४ गतेदेखि जङ्गली हात्ती बस्तीमा छिर्न सुरु गरेका हुन् । हालसम्म २७ परिवारको १० बिघा जग्गामा लगाइएको धानबाली, मकैबालीमा हात्तीले क्षति पुर्याएको उनले जानकारी दिए ।
सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोखेती र १५ हेक्टर क्षेत्रफलमा लगाइएको नेपियर घाँस खाएर सखाप पारेको जोशीले बताए । यहाँ उत्पादित अम्रिसोबाट कुचो तयार गरी बेच्दै आएका थियौँ, उनले भने, वर्षमा अम्रिसोबाट मात्रै तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो, हात्तीले पूरै खेतीमा क्षति पुर्याएको छ ।
सामुदायिक वनको आम्दानी गुमेको उनले बताए । सचिव जोशीका अनुसार बस्तीमा जङ्गली जनावर छिर्न नदिनका लागि लगाइएको मेसवायर हात्तीले ठाउँठाउमा तोडेको छ ।

प्रतिक्रिया