सोमबार, पुष ७, २०८२

नवौँ मुनसन कप सुरु

नेपालखोज २०८२ भदौ १० गते १९:४६

म्याग्दी । तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु भएको छ । एक लाख पुरस्कार राशिको सो प्रतियोगिता आजदेखि म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सुरु भएको हो ।

द मुनसन युवा क्लबले आयोजना गरेको पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘नाइन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ पौद्ध र महिला फुटबल खेलमा प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा भएको महिला फुटसल प्रतियोगितामा आयोजकलाई शून्यका विरुद्ध एक गोल गर्दै सुर्केमेला युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ ।

छ समूह सहभागी महिला फुटसलमा विजेतालाई रु २२ हजार २२२ र उपविजेतालाई रु ११ हजार १११ पुरस्कारको व्यवस्था गरिएको छ । १३ समूह सहभागी खुल्ला पुरुष फुटबल प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद रु एक लाख र ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिए ।

अनुशाषित टोलीलाई रु १० हजार, उत्कृष्ट खेलाडी, किप्पर, डिफेन्डर, सुटर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई दुई/दुई हजारका दरले पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको बेनी नगरपालिका–६ का वडाअध्यक्ष कृष्णसिंह बानियाँले उद्घाटन गरे ।

उनले चुत्रेनीको खेलमैदानलाई व्यवस्थित बनाउ रु चार करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्रोतको खोजी गरिरहेको र हालसम्म करिब ४० लाख लगानी गरेर पूर्वाधार बनाएको जानकारी दिए ।

प्रतिक्रिया