मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता

नेपालखोज २०८२ भदौ ११ गते १४:२३

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ ।

सो भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबीच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले कृषि, श्रम, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा इजरायलसँग सहकार्य हुँदै आएको बताउँदै नेपाली मुख्यतया कृषि र ‘केयर गिभर’ (हेरचाहकर्ता) का रूपमा इजरायलमा कार्यरत भएकाले यसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । इजरायलको आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै उनले कोशी प्रदेश कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले सहकार्यको लागि तयार रहेको बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्न ब्याज अनुदान दिएर युवालाई कृषि पेसामा आकर्षित गर्ने योजना ल्याएको जानकारी गराए । उनले प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्यमबाट आर्थिक विकासमा योगदान पुर्याउन सकिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गरे । उनले भने, कोशी प्रदेश सरकार महामहिम राजदूतमार्फत जोशीको रिहाइको लागि आग्रह गर्दछ । मनमोहन प्राविधिक विश्वविद्यालय बूढीगङ्गा मोरङ, गौरादह कृषि क्याम्पस झापालगायत प्रदेशका कृषि क्याम्पसहरूसँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गरे ।

सो अवसरमा इजरायली राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध पुरानो र प्रगाढ रहेको धारणा राखे । उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताए ।

इजरायलमा केयर गिभर र कृषि क्षेत्रमा काम गर्ने प्रशस्त अवसरहरू रहेका जनाउँदै त्यसमा सीप, क्षमता विकास गरी जनशक्ति लैजान सकिने बताए । कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको भन्दै उनले कोशी प्रदेशसँग पनि आगामी दिनमा सहकार्य गर्न सकिने जानकारी दिए ।

नेपालमा कृषि काम गर्ने ५० प्रतिशतभन्दा बढी जनशक्ति भए पनि सोअनुसारको प्रगति नभएको बताउँदै राजदूत बासले इजरायलमा थोरै जनसङ्ख्या कृषिमा काम गर्ने भए पनि उल्लेख्य प्रगति भएको उदाहरण दिए । उनले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगमार्फत प्रगति हासिल गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया