परम्परागत आरन पेसासँगै बाँचेका रामकुमार बराइली

नेपालखोज २०८२ भदौ १३ गते ५:४८

झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौडाले फलाम पिटिरहेका थिए ।

शरीर कमजोर भए पनि उनको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ । कारण–जीवनसाथी जस्तै बनेको आरन, हथौडा र फलामसँगको नाता । बराइलीको जन्म धनकुटाको पाख्रिबासमा भएको हो

बाल्यकालदेखि नै आरन–हथौडा देखेर हुर्किएका उनी २०३४ तिर झापाको साविक गोलधाप बजार आए। यहाँ आएपछि उनले ‘दुर्गा फलाम रिपयरिङ सेन्टर’ नामक पसल खोजेर कुखुरी, बन्चरो, हँसिया, चुलेसीजस्ता दैनिक जीवनमा प्रयोग हुने औजार बनाउन थाले ।

बराइलीका अनुसार सुरुदेखि नै कामको कमी कहिल्यै भएन । तर आज उमेरले ७० वर्ष टेक्दा साथीमध्ये कतिले पेसा छाडिसके, कतिले बुढ्यौलीले काम गर्न सकेनन् ।

जीवनमा धेरै उतारचढाव देख्नुभएका उनी हाल श्रीमतीसँगै गोलधापमा बस्छन् । दुई छोरी विवाह गरेर आ–आफ्नो घरमा छन् । एक छोरा भारतीय सेनामा, अर्को दुबईमा वैदेशिक रोजगारीमा छन् । सन्तान बिर्तामोडमा बस्छन् तर बराइलीलाई भने गोलधापकै पसल प्रिय छ ।

बराइलीमात्र होइन, देशभर परम्परागत सीप बोकेका कारिगर लोपोन्मुख अवस्थामा छन् । बढैया, शिल्पी, कामी वा लोहार सबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ । तर, बराइलीजस्ता सीपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन् । जीवनभर पुर्ख्यौली पेसालाई अँगालेका उनले परिवार पाल्न सके, समाजलाई योगदान दिए । तर अहिले उनको आरनमा गुन्जिने फलामको आवाज क्रमशः मन्द हुँदै गएको छ ।

उनको चाहना केवल व्यक्तिगत इच्छा मात्र होइन, मौलिक सीप जोगाउन समाज र सरकार दुवैको चुनौती पनि हो । अब प्रश्न उठ्छ – हामी मौलिक पेसा जोगाउन तयार छौँ वा बराइलीसँगै हराउँदै जान दिनेछौँ ? रासस

प्रतिक्रिया