बैतडीका स्थानीय तह सबल बन्दै, डिलाशैनी–५ को वडा भवन निर्माण

नेपालखोज २०८२ भदौ १३ गते ९:४१

बैतडी । डिलाशैनी गाउँपालिका ५नम्बर वडाकार्यालयले ७१ लाखको लागतमा तिलाचौरमा एकतले भवन निर्माण गरेको छ । गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्टका अनुसार आफ्नै भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ ।

उनले भने, यसअघि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भारका साथै एउटै कोठामा सबै फाँट राख्नुपर्ने बाध्यता थियो । अब काम गर्न सहज भएको छ । सबै वडा कार्यालयका निम्ति भवन निर्माण गर्ने योजना रहेको उनले बताए । डिलाशैनीका वडा नम्बर १ र २ कार्यालय भवन निर्माण भइसकेको छन् ।

पालिकाको भवन निर्माणका लागि पनि रु एक करोड २२ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए । नवनिर्मित वडा कार्यालय भवनबाट सेवा प्रवाह प्रारम्भ भए पनि यही भदौ १६ गते औपचारिक कार्यक्रमका साथ काम थालिने अध्यक्ष भट्टले बताए ।

प्रतिक्रिया