बोली-व्यवहार नरम बनाउनुस् : महानगर प्रमुख साह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गरे ।
प्रमुख शाहले भने, ‘महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।’
उपप्रमुख सुनिता डङ्गोलले व्यक्ति विशेष नभई जनता र संस्थाको हितमा काम गर्न महानगर प्रहरी बललाई निर्देशन दिए । उनले भने, ‘नागरिकको सुखदुःख, जात्रा, पर्वमा सधैँ जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रुपमा काम गर्नुपर्छ ।’
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरी र महानगर प्रहरी बलको सहकार्यमा अनधिकृत संरचना, अवरोध र सडकपेटीको अतिक्रमण हटाउने काम नतिजामुखी ढङ्गबाट भइरहेको बताए ।

प्रतिक्रिया