बिहीबार, मंसिर २५, २०८२

नेचुरल इस्पीरीट्स र मुक्तिनाथ क्यापिटलबिच सम्झौंता

नेपालखोज २०८२ भदौ १७ गते ८:२०

काठमाडौं । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ । “सेतो बाघ भोड्का” उत्पादक उक्त कम्पनीले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

यसै सन्दर्भमा, विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ करोड रुपैंयाँ बराबरको १५ लाख कित्ता कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो ।

नेचुरल इस्पीरीट्स नेपाल लिमिटेड, मिति २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको, नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने, यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ । पारिवारीक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन शुरु गरेको हो ।

उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नविनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११,००० लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५,००० लिटर क्षमताका एक्स्ट्रा नेचुरल अल्कोहल (इएनए) ट्याङ्कहरू रहेका छन् ।

कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले “सरङ्गी व्हिस्की ४० युपी” र “सेतो बाघ भोड्का ३० युपी” नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १,३४,२९८ लिटर रहेको छ । निकट भविष्यमा कम्पनीले “रारा ब्लुज ४० युपी” नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री तथा वितरण गर्न तयारी गरि रहेको छ ।

गुणस्तरलाई उच्चतम प्राथमिकतामा राख्दै उत्पादन र बजार विस्तार गर्ने लक्ष्यसहित, नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले आगामी दिनमा निरन्तर नवप्रवर्तन, ग्राहक सन्तुष्टि र दिगोपनप्रति प्रतिबद्ध रहि नेपाली मदिरा उद्योगमा अग्रणी कम्पनीका रूपमा स्थापित हुने लक्ष्य लिएको कम्पनीको अध्यक्षले जनाएको छ ।

प्रतिक्रिया