मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि २५ गतेसम्म दल दर्ता

नेपालखोज २०८२ भदौ १७ गते १२:४८

काठमाडौं । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।

निर्वाचन आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

मनाङ क्षेत्र नम्बर १ (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदैछ ।

याे उपनिर्वाचन प्रयोजनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ । साथै दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति र प्रदेश-जिल्ला तहका पदाधिकारी तथा सदस्य संख्या लगायतका विवरण संलग्न गर्नुपर्नेछ ।

थप जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया