विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन

नेपालखोज २०८२ भदौ १७ गते २१:३०

मोरङ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहका शासकीय सवाल विषयक अन्तरक्रिया उनले जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी समयमा काम गर्न आग्रह गरे ।

मुख्यसचिव अर्यालले राजस्व चुहावट नियन्त्रण र लागुऔषध नियन्त्रणमा जोड दिनुपर्ने बताए । उनले प्रत्येक वर्ष तीन प्रतिशतले साधारण खर्च वृद्धि भइरहेकामा चिन्ता व्यक्त यसले जनताको आयवृद्धिमा समस्या सृजना भइरहेकाले मितव्ययिता अपनाउनुपर्ने सुझाव दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्न ऐन कानुन संशोधन गर्नु आवश्यक रहेको बताए । उनले कृषिउपज भारत निकासीका लागि प्रदेशको खाद्य प्रयोगशालामा आवश्यकताअनुसारको कर्मचारी नियुक्त गर्न सुझाव दिए ।

कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले तीन तहका सरकारबीच समन्वय कायम गरी कार्य गर्ने बताए । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीलगायतले आफ्नो कार्यालयले गरेका काम र समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न सङ्घीय कार्यालयका प्रमुख, प्रदेशका मन्त्रालयका सचिव, तीन वटा सुरक्षा निकायका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो । -रासस

प्रतिक्रिया