दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले सुरु गरेको मासुका लागि व्यावसायिक राँगापालन प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित रु ४३ लाखबाट समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो ।
तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४०० वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिएका छन् ।
नगरपालिकाले विनियोजन गरेको बजेट कृषक समूहको खातामा जम्मा गरिदिएपछि समूह आफैले उन्नत जातका राँगा खरिद, ढुवानी तथा वितरण गरेको जनाइएको छ ।
नगरवासीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागू गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको उपप्रमुख विशन राईले बताए । राँगा तथा भैँसीपालन कार्यक्रमले प्राङ्गारिक मलसमेत उत्पादन हुने भएपछि तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि कृषकहरुलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले वडा नं. ६ नेर्पा र वडा नं. १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरेको छ ।
नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किएका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए ।
नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका कफीको नर्सरीमा दैनिक ज्यालादारीका करिब १०० जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आकलन गरिएको छ । -रासस

प्रतिक्रिया