अमेरिकी अदालतद्वारा ट्रम्पलाई निर्वासनका लागि युद्धकालीन कानून प्रयोगमा रोक

वासिङ्टन । अमेरिकी सङ्घीय अपिल अदालतले मङ्गलबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भेनेजुएलाका कथित गिरोह सदस्यहरूलाई निर्वासन गर्न युद्धकालीन कानून प्रयोग गर्ने कदमलाई अस्वीकार गर्दै केही दक्षिणी राज्यहरूमा यसको प्रयोगलाई रोक लगाउने निर्णय सुनाएको छ ।
ट्रम्पले गत मार्च १५ मा पहिलोपटक १७९८ को एलियन एनिमीज एक्ट (एइए) लागू गर्नुभएको थियो । सो कानूनअन्तर्गत उनले ट्रेन डे अरागुआ गिरोहका कथित सदस्यहरूलाई दुई विमानमार्फत एल साल्भाडोरको कुख्यात अधिकतम सुरक्षा कारागार सिइसिओटीमा पठाएका थिए । यो शताब्दीयौँ पुरानो ऐन दोस्रो विश्वयुद्धको समयमा जापानी–अमेरिकी नागरिकहरूलाई हिरासतमा राख्न प्रयोग गरिएको थियो ।
त्यसयता यसलाई प्रयोग गरिएको थिएन, तर अहिले यसलाई लक्षित गर्दै कानूनी चुनौतीहरूको शृङ्खला सुरु भएको छ । टेक्सास, लुइसियाना र मिसिसिपीमा रहेका आप्रवासीहरूलाई निर्वासन गर्न एइएमा भर पर्न नसक्ने ठहर गर्दै पाँचौँ अमेरिकी सर्किट कोर्ट अफ अपिल्सले मङ्गलबार २–१ मतले फैसला सुनायो । न्यायाधीश लेस्ली साउथविकले आफ्नो फैसलामा लेखे, उपलब्ध तथ्यहरूले आक्रमण वा शिकारी आक्रमण भएको प्रमाणित गर्दैनन् ।
त्यसैले याचिकाकर्ताहरूले एइए अनुचित रूपमा लागू भएको दाबी गर्न सक्ने पर्याप्त आधार रहेको उनले निष्कर्ष निकाले । एइएले युद्धकाल वा ‘आक्रमण वा शिकारी आक्रमण’ को अवस्थामा सरकारलाई शत्रुतापूर्ण राष्ट्रका नागरिकलाई हिरासतमा राख्ने वा निर्वासन गर्ने अधिकार दिन्छ । साउथविक र न्यायाधीश इर्मा क्यारिलो रामिरेजको सहमतिमा निष्कासन रोक्ने प्रारम्भिक आदेश जारी गरिएको हो । तर न्यायाधीश एन्ड्र्ययु ओल्डह्यामले भने असहमति जनाउँदै एइएको प्रयोग राजनीतिक निर्णयको विषय भएको टिप्पणी गरे ।
राष्ट्रको प्रारम्भदेखि लिएर राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालसम्म, अदालतले कुनै पनि राष्ट्रपतिको एइएको प्रयोगबारे दोस्रो अनुमान लगाएको इतिहास छैन, ओल्डह्यामले आफ्नो असहमति अभिव्यक्त गर्दै लेखे । कानूनी विश्लेषकहरूका अनुसार ट्रम्पको एइएको प्रयोगसम्बन्धी विवाद अन्ततः सर्वोच्च अदालतमा पुग्नेछ । ट्रम्पले आफ्नो राष्ट्रपति अभियानकै क्रममा लाखौँ कागजातविहीन आप्रवासीलाई निर्वासन गर्ने वाचा गरेका थिए ।
उनका धेरै कार्यकारी आदेशहरूले यस विषयमा देशभरका अदालतहरूबाट चुनौतीको सामना गरेका छन् । पदभार सम्हालेपछि उनले मेक्सिको सीमामा सेना पठाउनुभएको छ, मेक्सिको र क्यानाडाले अवैध प्रवेश रोक्न पर्याप्त काम नगरेको भन्दै कर लगाएका छन्, साथै ट्रेन डे अरागुआ र एमएस–१३८ जस्ता गिरोहलाई आतङ्कवादी समूहको सूचीमा राखेका छन् ।
यसअघि अर्को सङ्घीय अपिल अदालतले गत हप्ता ट्रम्प प्रशासनलाई करिब छ लाख भेनेजुएलालीलाई प्रदान गरिएको अस्थायी संरक्षित स्थिति (टिपिएस) हटाउने निर्णय तत्काल लागू नगर्न आदेश दिएको थियो । प्यु रिसर्च सेन्टरका अनुसार सन् २०२४ मार्चसम्म अमेरिकामा करिब १२ लाख मानिस टिपिएसका लागि योग्य वा प्राप्त गरिरहेका थिए, जसमा सबैभन्दा ठूलो समूह भेनेजुएलालीहरू थिए ।








प्रतिक्रिया