थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन अदालतको जोखिमपूर्ण फैसला अघि अचानक प्रस्थान

बैङ्कक । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बिहीबार अनपेक्षित रूपमा देश छाडेका छन् । उनले देश छाडेको पाँच दिनपछि अदालतले उनलाई नयाँ जेल सजाय सुनाउन सक्नेछ । उनको प्रस्थान छोरी पेटोङ्टार्न सिनावात्रालाई संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएको एक हप्तापछि भएको हो ।
अदालतले पेटोङ्टार्नलाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग राजनीतिक सम्झौतासम्बन्धी फोनकलका कारण नैतिकता उल्लङ्घनमा दोषी ठहर गरेको थियो । पेटोङ्टार्नको उत्तराधिकारी चयनका लागि शुक्रबार संसद्मा मतदान हुने तय थियो । धेरैले यसलाई थाक्सिनको दुई दशकभन्दा लामो राजनीतिक प्रभावको अन्त्यको सङ्केतको रूपमा हेरेका छन् । यस अवधिमा उनीविरुद्ध थुप्रै मुद्दा दर्ता भए पनि उनले जेलमा लामो समय बिताएको छैन ।
बैङ्ककको डन मुयाङ विमानस्थलमा थाक्सिनले अध्यागमन अधिकारीलाई आफ्नो निजी जेट सिङ्गापुरतर्फ जाने बताए । प्रहरीले पुष्टि गरेअनुसार उनमाथि कुनै गिरफ्तारी वारेन्ट वा रोक आदेश नभएकाले ७ बजेपछि विमानलाई उडान अनुमति दिइयो । तर एपीले विश्लेषण गरेको फ्लाइट–ट्र्याकिङ डाटाले उनको बोम्बार्डियर बीडी–७०० जेट सिङ्गापुरतर्फ गएको देखिए पनि अचानक पश्चिम फर्केर दुईपटक घुमी भारततर्फ अघि बढेको देखाएको छ ।
थाक्सिनले एक्समा उनी मेडिकल चेकअपका लागि सिङ्गापुर जान लागेको तर थाई अध्यागमन प्रक्रियाले दुई घण्टा ढिलाइ गरेको लेखेका छन् । सेलेटार विमानस्थलको राति १० बजेपछि बन्द हुने नियमका कारण विमान अवतरण गर्न नसक्ने भएपछि उनले मार्ग परिवर्तन गरी दुबई जाने निर्णय गरेको बताए । थाक्सिन सन् २००८ मा सुरु भएको स्व–निर्वासन अवधिमा दुबईमै बस्दै आएका थिए । उनले त्यहाँ आफ्ना नियमित चिकित्सकहरू रहेको उल्लेख गरे ।
उनको यो यात्राले सम्भावित जेल सजाय टार्ने प्रयास भएको शङ्का जन्माएको छ । तर उनले मङ्गलबार अदालतमा उपस्थित हुन थाइल्यान्ड फर्किने इच्छा प्रकट गरेका छन् । थाक्सिन सन् २००१ देखि सन् २००६ मा सैनिक कूले अपदस्थ नभएसम्म प्रधानमन्त्री थिए । सन् २००८ मा संक्षिप्त रूपमा थाइल्यान्ड फर्किए पनि भ्रष्टाचार मुद्दाको फैसला अघि उनी फेरि विदेश गए ।

प्रतिक्रिया