औलामा खेलमैदान र सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ औलामा सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको ४५ लाख अनुदान सहयोग र स्थानीयवासीको श्रमदानमा बास्केटबल, भलिबल खेल सञ्चालन गर्न मिल्ने पक्की खेलमैदानसँगै चारकोठे एकतले भवन निर्माण भएको हो ।
भवन र खेलमैदान निर्माण भएपछि एक सय २५ घरपरिवारको बसोबास रहेको औलाका बासिन्दालाई खेलअभ्यास, प्रतियोगिता सञ्चालन, क्लब, आमा समूहको कार्यालय सञ्चालनमा सहज भएको अन्नपूर्ण गाउँपालिका-७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले बताए ।
‘आर्थिक वर्ष २०७९/ ०८० देखि २०८१/८२ सम्म गाउँपालिकाले वार्षिक १५/१५ लाख बजेट विनियोजन गरेको पहिलो वर्ष खेलमैदान ढलान, दोस्रो वर्ष प्यारापिट र भवनको जग निर्माण भएको थियो’, उनले भने, ‘भवन ढलान, कोठा र सटर, छतमा रेलिङ निर्माण, रङरोगन र विद्युत् जडान गरेर आव २०८१/ ८२ मा भवन निर्माणलाई पूर्णता दिएको हो ।’
भवनको दुईवटा सटर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएर क्लबको आम्दानीको स्रोत बनाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर पुनले बताए । करिब ३० वर्षअघि ढलान गरिएको खेलमैदान उप्किएर जीर्ण बनेको थियो । खेलमैदानमा बास्केटबलको फाइवर बोर्ड पनि राखिएको छ ।

प्रतिक्रिया