सामान्य प्रशासन र खेलकूद मन्त्रालयमा कम क्षति, कार्यालय सञ्चालन गर्न सहज

नेपालखोज २०८२ भदौ २९ गते १८:२६

काठमाडौं । ‘जेनजी’ समूहको आन्दोलनका कारण देशभरका सरकारी संरचनामा क्षति पुग्यो । धेरै ठाउँमा भौतिक पूर्वाधारमा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाइ छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि धेरैजसो मन्त्रालयमा भौतिक क्षति भएको छ । तथापि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयमा कम क्षति भएको पाइएको छ ।

सवारीसाधनमा क्षति पुगे पनि अन्य भौतिक संरचना अथावस्थामा रहेकाले कार्यालय सञ्चालनमा सामान्य मात्रै कठिनाइ भएको ती मन्त्रालयले जनाएका छन् । सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले मन्त्रालयका धेरैजसो सवारीसाधनमा क्षति भएको जानकारी दिए । उनले मन्त्रालयको भूँइतल्लामा केही क्षति भए पनि अन्य स्थानमा ठूलो क्षति भएको छैन । सहसचिव पराजुलीका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छभने आजदेखि अधिकांश कर्मचारी कार्यालयमा उपस्थित भएका छन् ।

‘क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । नियमित रूपमा कार्यसञ्चालनका लागि आवश्यक तयारी गरिएको छ । धेरै क्षति नभएकाले काम गर्ने अवस्था छ’, उनले भने । मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण सङ्कलन गर्न र वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाहलाई नियमित बनाउन आग्रह गरिसकेको सहसचिव पराजुलीले जानकारी दिए । सबै स्थानीय तहलाई सेवा प्रवाहमा वैकल्पिक व्यवस्था गर्न र क्षतिको विवरण जानकारी गराउन भनिएको उनले बताए ।

‘प्रशासनिक सेवा सञ्चालन गर्न लागिएको छ । अन्य विवरण सङ्कलन भइरहेको छ । मन्त्री, सचिव, सहसचिव चढ्ने अधिकांश सवारीसाधन जलेर ध्वस्त भएकाले केही समस्या भएको छ । यही भदौ २३ गते मन्त्रालयका अधिकांश सवारीसाधन सुरक्षाका हिसाबले सहज हुने भन्दै सिंहदरबार परिसरमा नै राखिएका थिए’, सहसचिव पराजुलीले भने । मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा भने क्षति भएकाले अन्य कोठामा व्यवस्थापन गरिएको छ । सवारीसाधनको अभावमा वैकल्पिक व्यवस्था गरेर कार्यालय आउन कर्मचारीलाई भनिएको र सोहीअनुसार काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनका कारण युवा तथा खेलकूद मन्त्रालयमा पनि छिटफुटबाहेक धेरै क्षति भएको छैन । यस मन्त्रालयमा पनि सवारीसाधनमा भने क्षति पुगेको छ । सहसचिव सुवास शिवाकोटीले सवारीसाधनमा क्षति भए पनि मन्त्रालय खासै समस्या नभएको र मातहतका कार्यालयको अवस्था पनि राम्रो रहेको बताए । यस मन्त्रालयमा कूल २२ सवारीसाधनमध्ये १३ वटा चालु अवस्थामा रहेकामा त्यसमा चारवटामा क्षति भएको छैन ।

मन्त्री आवासस्थल भँैसेपाटीमा मन्त्री चढ्ने दुई वटा सवारीसाधन भने आगलागीका कारण जलेका छन् । मन्त्रालयको मन्त्रीको गोप्य कार्यकक्षको झ्याल र सचिवको कार्यकक्षको सिसा फुटेको छ । केही झ्यालको पर्दा जलेको छ भने सवारीसाधनमा आगलागी हुँदा भवनको केही भागमा कालो बसेको छ । मन्त्रालयको कागजी अभिलेखमा भने कुनै क्षति नभएको जनाइएको छ । मन्त्रालय मातहत कर्मचारी थोरै छन् । मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारी भने स्वतःस्फूर्त रूपमा आज कार्यालय आएको सहसचिव शिवाकोटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया