‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।
तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि आजदेखि परीक्षण उत्पादन थालिएको हो ।
आयोजनाका आवासीय इञ्जिनीयर प्रकाश तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परीक्षण थालिएको जानकारी दिए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नं ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार ९०० मिटर लामो छ ।
‘आउटलेट’देखि विद्युत्गृहसम्म छ सय ८० मिटर लामो ‘पेनस्टक पाइपलाइन’ जडान गरिएको छ । अपर राहुघाटको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी हो ।
विसं २०७७ देखि निर्माण सुरु भएको यस आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्ट्रक्सन हो । साउथ एशियन इन्फास्ट्रक्चरले यसको सुरुङ बनाएको हो ।
तुँदी पावरले निर्माण गरेको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।
संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले यही भदौ महिनादेखि व्यावसायिक उत्पादन थालेको थियो ।
चिमखोला– मङ्गले– राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो । दुई वटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको छ ।
यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
बन्दीदेखि चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।
चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् ।

प्रतिक्रिया