सत्ता पतनको गैर–मार्क्सवादी दृष्टि

प्रधानमन्त्री रूपमा केपी शर्मा ओली र संसारको इतिहासमा ‘ज्ञान तथा चेतनाको बिस्तारको यात्रा’को बुझाइका बारेमा ठुलो द्वन्द्व थियो । प्रमको रूपमा ओलीले चुकेका ठाउँहरू धेरै होलान्, म तेताँ जान चाहन्न-एउटा विषयमा मात्र केन्द्रित रहन चाहन्छु ।
बर्षौ अघि, त्रिवि कीर्तिपुरमा रहँदा यौटा पुस्तक पढेको थिए। शायद, एलिजावेथ एल. ले लेखेको ‘द प्रिन्टींग प्रेस एन एजेन्ट अफ चेन्ज’ हुनुपर्छ। प्रेसको जन्मले युरोपमा ल्याएको बौद्धिक, धार्मिक र राजनीतिक परिवर्तनको गहन अध्ययन गरिएको थियो। चाखका साथ पढेको हुनाले यसका केही कुराहरू अझै याद रहेका छन्।
पुस्तकमा उद्धृत यौटा सत्य कथा भनौँ। चीनमा प्रेसको जन्म भए पनि एउटै ब्लकबाट धेरै प्रति छाप्न मिल्ने प्रेस मेशिनको अबिष्कार सर्वप्रथम युरोपमा सन् १४५० मा जर्मनीका जोहानेस गुटेनबर्गले गरे। यसैलाई ‘गुटेनबर्ग प्रेस’ भनियो। इतिहासका शोधकर्ताहरू भन्छन् युरोपमा यस पछि मात्र एकाध व्यक्ति वा चर्च जस्तो संस्थासँग रहेको लिखित कुराहरू, दस्ताबेजहरू छापिएर अरूहरूका समक्ष पुग्न लाग्यो। युरोपमा ज्ञान र विचार फैलन थालियो, पहिले पुस्तक धनी वा धर्मगुरुहरूको हातमा मात्र सीमित हुने अवस्था तोडियो। अब सामान्य मानिसले पनि पढ्न पाउने, बुझ्ने र प्रश्न सोध्ने मौका पाए। एक समय थियो, चर्चमा प्रश्नकर्ताले ‘कन्फेसन्स’ गराउने पादरीको अनुहार हेर्न पाउँदैनथे। पादरीले बोलेका कुरा मान्नु पर्दथ्यो। अब दोहोरो संवाद हुने भयो।
यसको करिब ६-७ दशक पछि, सन् १५१७ मा जर्मनी कै एक पादरीले ९५ वटा प्रश्नहरू छपाएर यौटा ठुलो पर्चाको रूपमा क्याथोलिक चर्चको ढोकामा टाँसेर सोधिएका विषयहरूका जवाफका लागि चर्चलाई चुनौती दिए। यतिन्जेल चर्चसङ कसैको पापका मात्राको मूल्याङ्कन गरेर सो पाप गरे बापत क्षमा दिने वा ‘क्षमा बेच्ने’ अधिकार थियो। यी थिए- पादरी मार्टिन लुथर। यस इतिहासलाई जानेर आज धेरैलाई आश्चर्य लाग्ला कि त्यस बेला चर्चले ‘इन्डल्जेन्स’ अर्थात् ‘पाप मिनाहा दिइएको प्रमाण पत्र’ बेच्दथ्यो। पादरी मार्टिन लुथरले यस उपर कडा प्रहार गरेर, प्रश्न सोधेर युरोपीय पुनर्जागरणको सुरुआत गरे यसलाई ‘प्रोटेस्टान्ट सुधार आन्दोलन’ भनियो ।
त्यो एउटा नयाँ युगको घोषणा थियो। तर, लुथरका ९५ प्रश्नहरूबाट क्याथोलिक चर्च अझ बढी असहिष्णु भयो, लुथरलाई बहिष्कार गरियो। यहाँ मेरो उद्देश्य युरोपमा प्रोटेस्टान्ट आन्दोलनका बारेमा बताउनु होइन। अपितु भन्न चाहेको हुँ कि मानव इतिहासमा कहिलेकाहीँ स–साना तर साहसी कदमहरूले कसरी सम्पूर्ण सभ्यता बदलिदिन्छन्। यहाँ बढी विचारणीय कुरो के छ भने यस घटनाले कालान्तरमा आधुनिक राष्ट्र-राज्य, व्यक्तिगत अधिकार, र पुँजीवादी अर्थतन्त्रको जन्मलाई प्रेरणा दियो। बिचार विकासको क्रममा यस यात्राको अर्को रोचक पक्ष छ, जुन शेरबहादुरहरूले त कहिल्यै पढनै पाएनन् होला। औपचारिक शिक्षा नपाएका देउवा पछिका पुस्ता कै ओलीहरूले पनि यो मौका न पाउनु नितान्त स्वाभाविक हो।
हामीले भने पढौँ, यस्ता कुराहरू पढनै पर्छ। यी घटनाक्रमहरूले इतिहासको अर्को पक्ष पनि देखाउँछ। पुँजीवादको जगमा जन्मिएको समाजभित्रै शोषण र असमानताको संरचना बनेको कुरा। यही वास्तविकताबाट प्रेरित भई १९औँ शताब्दीमा कार्ल मार्क्सले पुँजीवादका विरुद्ध गहिरो प्रश्न उठाए। यसरी, लुथरको विद्रोही चेतना र मार्क्सको आलोचनात्मक दृष्टि—दुवै एउटै धारा, अर्थात् अन्यायको विरुद्ध प्रश्न गर्ने संस्कृतिका निरन्तरता हुन्। जुन अहिलेका सर्वाधिक चर्चित “जेन्जी” भनी चिनिने नेपाली नवयुवाहरूसम्म पनि आई पुगेको हो। मोरंग कलेजमा पढ्दाको बखत ‘हर्वर्ट मर्क्युज’ले लेखेको एक पुस्तक पढेको थिए, युग भयो। कम्युनिस्टहरूले आफ्नो सत्तालाई जोगाउन सिद्धान्तलाई शक्ति संरचनामा कसरी उपयोग गर्छन् मर्क्युजले शानदार विश्लेषण गरेका थिए। अब त्यसको थोरै सम्झना छ। यद्यपि, संसारका झैँ यहाँका ओलीहरूले यसलाई बिर्सेनन्।
आज हामी डिजिटल युगमा छौँ। प्रेसको ठाउँ इन्टरनेटले लिएको छ, र विचार फैलिन सेकण्डमै सम्भव छ। यहाँ ओलीले सामाजिक सञ्जालहरूलाई प्रतिबन्ध लगाए। उनी विरोधबाट निश्चिन्त हुन चाहेका थिए। यद्यपि ओली, उनका सञ्चार मन्त्री तथा तिनका सल्लाहकारहरूलाई डिजिटल सञ्चार माध्यमको अवरोधहीन व्यापकताको ज्ञान नै भएन। एकाध दर्जन सामाजिक सञ्जाललाई प्रतिबन्धित गरियो। इन्टरनेट भने चालु नै थियो। विपिन पावरहरूको निर्विघ्नता यिनीहरूका समझ भन्दा बाहिरको विषय थियो। जतिखेर नेपालमा सामाजिक सञ्जाल बन्द गरियो, त्यस तीन दिनमा भनिपिएको ट्राफिकमा ६००० प्रतिशतको वृद्ध रेकर्ड गरियो। स्वीट्जरलैण्डका प्रोटोन भिपिएले लेख्यो ‘प्रतिबन्धको पाँचौँ दिनसम्ममा नेपालको भिपिएन ट्राफिकमा ८००० प्रतिशतले वृद्धि भयो ।’
टिकटक जो खुला थियो, यस्तै सञ्चालनमा रहेका अरूहरूको ट्राफिक समेतलाई बिचार गर्दा सरकारले लगाएको प्रतिबन्ध पुरै प्रभावहीन भैसकेको थियो। उता बेखबर सरकार आफ्नो आकार भन्दा ठुलो चिहान खन्नमा व्यस्त थियो। तर मूल प्रश्न उही छ—के हामी शासनमा रहँदा प्रश्नहरूका जवाफ दिई रहेका हुन्छौं? आजका ‘जेन्जी’ पुस्ता नवयुवा मात्र होइनन्। यिनीहरू तीव्र संचारक पनि हुन्। प्रविधिको सचेत प्रयोग गर्दै यिनले आफ्ना विचारलाई डिजिटल सन्देश, टुलकिट आदि मार्फत सामान्य मानिसको जीवनमा प्रवेश गराए। यसरी यो आन्दोलन केवल सचेतनाको विषय रहेन। सत्ता तथा राज्य प्रणाली बदल्ने “ब्रान्डेड आन्दोलन”को रूप लियो। उन्मत्त आपराधिक मानसिकतामा छिरिसकेका ओली-देउवाहरूले बुझेका थिए-प्रविधि मात्रले परिवर्तन ल्याउँदैन, तर जसले त्यसलाई प्रयोग गरिरहेको थियो उसको रणनीति र साहस उनले, देउवाहरूले बुझ्न सकेनन्।
नेपालका कम्युनिस्टहरू इतिहास पढ्ने दावा त गर्छन्, तर सञ्चारको इतिहास बुझ्नेमा अनपढ छन्। गुटेनबर्ग प्रेसले देखाएको एउटा पाठ स्पष्ट थियो-विचारलाई रोक्नु हुन्न, उसलाई फैलिन दिएपछि मात्र इतिहासले बाटो पहिल्याउँछ। मार्टिन लुथरले यही बाटो प्रयोग गरेर चर्चको बलियो गढ भत्काए। पुँजीवादले प्रेसलाई आफ्नो पक्षमा मोडेर शक्तिशाली बनायो। मार्क्सले पनि सञ्चारलाई वर्ग–चेतना जगाउने हतियार बनाए।नेपालका कम्युनिस्टहरू मात्र होइन, संसारका धेरै कम्युनिस्ट पार्टीहरूले यही पाठ बुझ्न चुके। उनीहरूले सञ्चारलाई नियन्त्रण गर्ने ‘साधन’ ठाने, न त डिजिटल लहरलाई आत्मसात् गर्न सके, न त नयाँ पुस्ताको चेतनालाई पढ्न सके।
मूर्ख कम्युनिस्टको रूपमा ओलीले यही सूत्रको उल्टो व्याख्या गरे। उनीले आफू पछि सत्ता पर्खेर बसेका लाभग्राही देउवालाई सम्झाए-सञ्चार जनताको बिच विचार फैलाउने माध्यम होइन, सत्तालाई सुरक्षित गर्ने पर्खाल मात्र हो। त्यसैले उनीहरूले प्रिन्टमा कठोर नियन्त्रण, रेडियो–टिभीमा एकाधिकार, अनि अहिले डिजिटल प्लेटफर्ममा प्रतिबन्ध लगाउने बाटो रोजे।यसो गर्दा तत्काल सत्ता सुरक्षित भएको जस्तो देखिए पनि, दीर्घकालमा यसले जनताको विश्वास टुटाउँछ।
नयाँ पुस्ता—विशेषतः डिजिटल पुस्ता—आवाज दबाइएर बस्दैन। यही कारण नेपालका कम्युनिस्टहरूले सञ्चारलाई दमन गर्ने प्रयास गरेर उल्टै विद्रोह र अस्थिरतालाई जन्माए। मेरो बिचारमा, नेपालका कम्युनिस्टहरू, देउवा खाले काँग्रेसीहरूके असफलता केवल नीतिगत मात्र होइन, ऐतिहासिक दृष्टिकै असफलता हो। जसले सञ्चारलाई नियन्त्रण गर्न खोज्छ, ऊ आफैँ इतिहासको चक्रबाट बाहिर फालिन्छ। फालिए।

प्रतिक्रिया