‘संविधानसँगै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता छ’

नेपालखोज २०८२ असोज ३ गते १०:११

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानसँगै मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता भएको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त तथा यो व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति सम्मान प्रकट गर्दै मुख्यन्त्री कँडेलले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको दिन ऐतिहासिक र महत्वपूण दिन रहेकाे बताए ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो । यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधन लागि तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकारजस्ता मागहरु लिएर सडकमा आएको जेनजी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थितिले यतिबेला हामी सबैसामु गम्भीर चुनौती आएको छ ।’

लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा कहिल्यै कल्पना गर्न नसकिने गरी जेनजीको प्रदर्शनमा भएका त्यस प्रकारका घटनाले लोकतन्त्र र समृद्धिका पक्षधरहरु एकपटक फेरि राष्ट्र, राष्ट्रियता र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एक ठाँउमा उभिनुपर्ने र संविधानसँगै प्राप्त उपलब्धिहरुको जोगाउनुपर्ने अवस्था सिर्जना भएको बताउँदै मुख्यमन्त्री कँडेलले यो विषयलाई गम्भीरतापूर्वक लिन लोकतन्त्र पक्षधरहरु सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया