नेपालको इतिहासमा नेपाली द्वारा नेपाली विमान अपहरणको कथा

सुनिल उलक २०८२ असोज ६ गते ९:२२

नेपालको वायुसेवाको इतिहासमा नेपाली विमानको अपहरणको एक मात्र घटना भेटिन्छ । यसर्थ नेपाली आकाश आतङ्कवादको दृष्टिकोणले सुरक्षित छ । २०५६ पौष ९ गते भारतीय वायुसेवाको विमान अपहरण भएको थियो । तर यो विमान काठमाडौंबाट दिल्लीको उडानमा रहेको विमान भए पनि आतंकवादीहरुबाट भारतीय आकाशमा प्रवेश गरेपछि मात्र अपहरण भएको थियो ।

२०३० जेठ २८ को बिहान ७ बजे शाही नेपाल वायुसेवा निगमको ट्वीन अटर विमान 9N-ABB काठमाडौं त्रिभुवन विमान स्थलबाट विराटनगरको लागी उड्यो । पाइलट क्याप्टेन आरके मानन्धर को-क्याप्टेन श्रीदेव वैद्य र सहायक जीवी राईको टोली विमानमा थिए । बिहानको सवा ८ बजे विराटनगर विमानस्थलमा जहाज ओर्लियो । केही समय विमानमा यात्रुहरू झर्ने र चढ्ने क्रम भयो । विमानमा १९ जना यात्रुहरू काठमाडौं का लागी चढेपछि तीन विमानका कर्मचारी सहित जहाज साढे ८ बजे काठमाडौं को लागी उड्यो । विमानका १९ यात्रुहरू मध्य भारतीय चलचित्रकी नायिका माला सिन्हा पनि विमानमा काठमाडौं जाँदै थिए ।

नेपाली काँग्रेस आफ्नो पार्टीको विभिन्न कार्यक्रमको लागी आर्थिक अभावमा गुज्रिरहेको थियो । भारतको फारवेशगञ्जमा पार्टी कार्यालय खोले पनि समय समयमा मिटिङ गर्नुबाहेक ठुला योजना बनाउन असमर्थ भएको थियो । गिरिजा प्रसाद कोइराला पनि जेठको अन्तमा फारवेशगञ्ज पुगेका थिए भने अन्य सदस्यहरू पनि फारवेशगञ्जमा नै थिए । पञ्चायत विरुद्ध सङ्घर्ष गर्न पैसाको खाँचो थियो । तर पैसा कसरी ल्याउनेमा भने सोच्न सकेका थिएनन् ।

विमान अपहरण गरेर नेपाल सरकारसँग फिरौती लिन सकिने कुरामा पनि केही सल्लाह त हुन्थ्यो तर आँटिला कोही भेटिँदैनथे । विमान अपहरण गर्नु त्यति सहज पनि थिएन । यही बिच काठमाडौं जेलबाट भर्खरै छुटेका दुर्गा सुवेदी फारवेशगञ्ज पुगे । गिरिजा प्रसादसँगको भेटमा विमान अपहरण गरेर रकम जम्मा गर्न सकिने कुरा सुने । दुर्गा सुवेदीले जेलमा रिडर्स डाइजेस्ट पत्रिकामा जापानको भूमिगत रेड आर्मीका युवाहरूले विमान अपहरण गरेको घटना बारेमा पढेका थिए तसर्थ उनी जोशिए ।

एक दिन दुर्गाको भेट मदन अर्यालसँग भयो । मदन नेपाल राष्ट्र बैंकको विराटनगर शाखामा कार्यरत थिए । उनीसँगको कुराकानीमा भारत अत्तरियाबाट नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ खरिद गर्ने र सो रकम विराटनगरबाट विमानमा काठमाडौं लगिने जानकारी पाए । यसरी भारतबाट रुपैयाँ आउने भए पछि अत्तरियाबाट काठमाडौंबाट विराटनगर बिचमा लुट्न सकिने बारेमा पनि विमर्श गरे । यता गिरिजालाई दिइएको जानकारी बिपी समक्ष पुग्यो । बिपीले ज्यानको जोखिम राखेर काम नगर्न सुझाए । तर खासै समस्या नहुने तर्कमा तैयारी तर्फ लागे । अत्तरियाबाट विराटनगरमा सुरक्षा फौजको उपस्थितिले सम्भव नदेखे पछि विराटनगरबाट काठमाडौं विमानमा लैजाँदा नै विमान अपहरण गरेर लुट्ने योजना बनाउन लागे ।

पार्टीबाट सहमति पाए पछि दुर्गाले समूह र योजना बनाउन लागे । साथमा नगेन्द्र ढुङ्गेल र बसन्त भट्टराईलाई पनि समेते । यता राष्ट्र बैंकका कर्मचारी रहेका मदन अर्याल विमानमा रकम लैजाने सूचना दिन तैयार भए भने उनका दाजु विनोद प्रसाद अर्याल जो भारतमा निर्वासनमा थिए उनले लुटिएको रकम दार्जिलिङ वा सिक्किमसम्म सुरक्षित लगिदिन तैयार रहेको जानकारी दिए ।

यसरी सम्पूर्ण तैयारी भए पछि तीन जनाको समूह विराटनगरमा तैयार अवस्थामा बसे । रु १७५ भाडा रहेको टिकट उनीहरूले दुई पटक सम्म क्यान्सिल गर्न बाध्य भए । रकम लग्न तैयार भएको सूचनाको आधारमा टिकट काट्थे र रकम नआए पछि टिकट क्यान्सिल गर्थे । अन्ततः २०३० को जेठ २८ गते ३० लाख भारु विराटनगरबाट काठमाडौं लैजाने तैयार बारेमा सही सूचना पाए । पक्का थिएन रकमको बाकस आउने हो कि होइन । तसर्थ रिक्सामा तीन जना विमानस्थल तर्फ लागे । नगेन्द्र र बसन्तलाई बर्गाछीको राइसमिलमा छोडेर दुर्गा एक्लै साढे ८ बजे विराटनगर विमानस्थल पुगे । विमानस्थलमा सैनिक सुरक्षाको साथ रकम विमानस्थल आइपुगेको देखे पछि दुबैलाई बोलाए ।

विमानस्थलमा तीन जना दुर्गा सुवेदी नगेन्द्र ढुङ्गेल तथा बसन्त भट्टराई पुगे तर दुर्भाग्य दुई वटा टिकट मात्र पाए । यता नेपाल राष्ट्र बैंकका मेनेजर दिलिपजङ्ग थापा अचानक काठमाडौं पुग्नुपर्ने भए पछि सुरक्षाको लागी खटिएका जवानको टिकटमा नै काठमाडौ उड्न बाध्य भए । विमानमा रकम रहेको बाकस चढाइसकेको तथा काठमाडौंमा पनि सुरक्षा फौजको उपस्थिति विमानस्थलमा हुने तथा मेनेजर आफै पनि विमानमा जाने हुँदा सुरक्षित रहने जानकारी दिँदै सैनिकको टिकटमा काठमाडौं जाने तैयारी गरे । यता अपहरणको लागी तैयार रहेका तीन जनामा एक जनाको लागी टिकटको आवश्यकता रह्यो । विमानमा काठमाडौं जान प्रतीक्षामा रहेकाहरूमा नेपाली चलचित्रका नायक सिपी लोहनी तथा उनको पत्नी भारतीय नायिका माला सिन्हा पनि थिए । दुर्गा सुवेदीले सिपी लोहनीलाई आफू बिमार रहेको तथा आजै उपचारको लागी काठमाडौ जसरी पनि पुग्नु पर्ने भन्दै उनको टिकट फुत्काए ।

प्रतिक्रिया