महेन्द्रनगर आँखा अस्पतालमा भारतीयको आकर्षण

दोधारा चाँदनी (कञ्चनपुर) । भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ ।
सस्तो र गुणस्तरीय उपचारका कारण पछिल्लो समय भारतका विभिन्न सीमावर्ती सहरबाट बिरामी उपचारका लागि महेन्द्रनगर आउन थालेका छन् । अस्पतालका अनुसार भारतको उत्तराखण्ड र उत्तर प्रदेशका नागरिक आँखा परीक्षण तथा अन्य नेत्रसम्बन्धी उपचार सेवा लिन यहाँ आउने गरेका छन् । सस्तो र गुणस्तरीय उपचार सेवाका कारण अस्पतालमा नेपाली र भारतीय सेवाग्राहीको चाप बढिरहेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए ।
यहाँ अत्याधुनिक मेसिनबाट आँखा जाँच हुनुका साथै शल्यक्रियासमेत हुने गरेको छ, नेत्र अधिकृत धामीले भने, उपचारका लागि नेपाली मात्र नभएर छिमेकी मुलुक भारतीय नागरिकसमेत आउने गरेका छन् । उहाँका अनुसार गत आर्थिक वर्षमा २४ हजार ७८० जनामा आँखासम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो । जसमा एक हजार ६६७ जना भारतीय नागरिकले सेवा लिएका छन् । अस्पताले छ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो भने पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरेको गरिएको छ ।
विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको अस्पताललाई २०७० सालमा स्तरोन्नति गरिएको थियो । त्यसपछि अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा दिन थालेपछि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालका अनुसार आव २०७७/७८ मा यहाँ १८ हजार ८१० जनाले उपचार सेवा लिएका छन् । आव २०७८/७९ मा २३ हजार ८२६, आव २०७९/८० मा २३ हजार २१३, आव २०८०/८१ मा २४ हजार ९५२ जनाले उपचार सेवा लिएका छन् ।
अस्पतालमा मोतियाविन्दुको समस्याका बिरामी र चश्मा लगाउने बिरामी धेरै आउने गरेको नेत्र अधिकृत धामीले बताए । पैतालीस वर्ष उमेर पुगेपछि धेरैलाई मोतियाविन्दुको समस्या हुने गरेको छ, धामीले भने, चोटपटक, गलत औषधि प्रयोगका कारण र कहिलेकाहीँ जन्मजातका कारण पनि मोतियाविन्दुको समस्या देखिन्छ । मोतियाविन्दु, आँखामा मासु पलाएकाजस्ता समस्याको शल्यक्रिया आधुनिक मेसिनबाटै गरिन्छ ।
साताको शनिबार शल्यक्रिया गर्छौँ अन्य समयमा ओपिडी सेवा सञ्चालन हुन्छ । आँखा उपचारका लागि दैनिक एक–डेढ सय जना बिरामी आउने गरेका छन्, धामीले भने ।
अस्पतालले हरेक वर्ष समुदायस्तरमा शिविरमार्फत पनि सेवा दिँदै आएको छ । गत आवमा विद्यालयमा सञ्चालित छवटा शिविरबाट एक हजार ९१३ विद्यार्थीको आँखा जाँच गरिएको थियो । जसमा ६७ जना विद्यार्थीलाई समस्या देखिएकामा तीमध्ये ४७ जनालाई अस्पतालले चश्मा वितरण गरेको थियो । समुदायमा गरिएको आँखा जाँच शिविरमा एक हजार ५५० जनाले सेवा लिएका थिए । जसमा एक सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको नेत्र अधिकृत धामीले बताए ।
अस्पतालले आँखाको समस्या न्यूनीकरणका लागि स्वयंसेवक, हेल्थ पोष्ट इन्चार्जलाई समेत तालिम दिँदै आएको छ । आँखाको समस्या देखिएमा तुरुन्तै हाम्रो यहाँ पठाउनुहोला भनेर हेल्थ पोष्टका इन्र्चाज र स्वयसेवकलाई हरेक वर्ष तालिम दिने गरेका छौँ, धामीले भने, हाम्रो उद्देश्य सस्तो, गुणस्तरीय उपचार सेवा समयमै दिनु हो । शल्यक्रियाका लागि थप मेसिन भित्र्याउन सके जटिल किसिमका शल्यक्रिया यहाँ सम्भव भएको बताए । त्यसका लागि स्थानीय तह तथा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।








प्रतिक्रिया