तनहुँ प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था

नेपालखोज २०८२ असोज १७ गते १२:२८

दमौली (तनहुँ) । यहाँस्थित प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा पेट, मुटु तथा छाती तथा बालरोग विशेषज्ञको व्यवस्था गरेको हो ।

अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार विशेषज्ञ सेवाका निम्ति सर्वसाधारण जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको हो ।

यसअघि विशेषज्ञ सेवाका लागि पोखरा, भरतपुर, काठमाडौ जानुपर्ने बाध्यता थियो । प्रदेश अस्पताललाई ५० शय्यामा विस्तार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको तथा हाल पददर्ताको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

गत आवमा उक्त अस्पतालबाट एक लाख सात हजार ९८३ जनाले सेवा लिएका थिए । -रासस

प्रतिक्रिया