बुधबार, पुष ९, २०८२

प्रतिबन्धित अवामी लिगका समर्थकहरू चुनावअघि सडकमा

नेपालखोज २०८२ असोज २६ गते १३:०७

ढाका । कुनै समय बङ्गलादेशको सबैभन्दा ठूलो राजनीतिक दल रहेको अवामी लिगलाई गत वर्ष सामूहिक जनविद्रोहका क्रममा तत्कालीन नेत्री शेख हसिनालाई सत्ताच्युत गरिएपछि गैरकानूनी घोषित गरिएको थियो ।

तर आगामी चुनाव नजिकिँदै गर्दा उहाँका समर्थकहरू पुनः सक्रिय बनेका छन् । उनीहरूले सामाजिक सञ्जालमा फैलिएको ‘प्रतिरोध’ को आह्वानबाट प्रेरित भएर प्रतिबन्धलाई बेवास्ता गर्दै देशभर फ्ल्यास मोब शैली (सार्वजनिक स्थानमा सङ्गठित हुने र तुरुन्त तितरबितर हुने तथा सङ्गठित हुन सामाजिक सञ्जालको प्रयोग गर्ने) का विरोध प्रदर्शन सुरू गरेका छन् ।

राजधानी ढाकामा ४५ वर्षका सरसफाइकर्मी मोहम्मद कासेमले अवामी लिगका करिब २५ जना निष्ठावान समर्थकहरू सहभागी भएको एक प्रदर्शन देखेका थिए । उनका अनुसार प्रहरीहरूले ती प्रदर्शनकारीलाई पछ्याई कुटपिट गरी हिरासतमा लिएका थियो । यो त केवल एक ठाउँमा होइन, सहरभरि भइरहेको छ, कासेमले भने, फेसबुकमा हरेक दिन यस्ता भिडियोहरू देखिन्छन् ।

सन् २०२६ फेब्रुअरीमा हुने अपेक्षा गरिएको आगामी निर्वाचन शेख हसिनाको १५ वर्ष लामो शासनपश्चातको पहिलो हुनेछ । जनआन्दोलनको बीचमा भीडले प्रधानमन्त्री आवासमा आक्रमण गरेपछि हसिना भारत निर्वासनमा जान बाध्य भएका थिए । त्यसयता उनले विद्रोहका क्रममा भएको हिंसात्मक दमनको आदेश दिएको आरोपमा मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा अदालतमा हाजिर हुन अस्वीकार गरेका छन् ।

उनको पार्टी र समर्थकहरू भूमिगत अवस्थामा पुगेका छन् । अधिकारीहरूले हालसम्म यस्ता फ्ल्यास मोब प्रदर्शनहरूसँग सम्बन्धित आठ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएका छन् । यी प्रदर्शनहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई चुनावसम्म स्थिरता कायम राख्ने प्रयासमा चुनौती दिएको छ ।

जोखिम उच्च भए पनि समर्थकहरू सडकमा उत्रिन रोकिने पक्षमा छैनन् । केही प्रदर्शनहरूमा केवल थोरै मात्र युवा सहभागी हुन्छन् भने कतिपयमा सयौँ मानिस नारा लगाउँदै देखिन्छन् — ‘शेख हसिना फर्किंदै हुनुहुन्छ !’ र ‘बङ्गलादेश मुस्कुराउँदैछ !’ । भीडह केही मिनेट नाराबाजी गरेपछि तितरबितर हुन्छन् । कहिलेकाहीँ ढाकाका फरक–फरक भागमा एकैपटक धेरै आकस्मिक प्रदर्शनहरू हुने गरेका छन् । एक दिन मात्रै प्रहरीले दुई सय ४४ जनालाई पक्राउ गरेको बताइएको छ ।

अन्तरिम सरकार यस्ता प्रदर्शनहरूबाट असहज बनेको देखिन्छ । अन्तरिम सरकार प्रमुख युनुसका प्रेस सचिव शफीकुल आलमले गत महिना पत्रकारहरूलाई भनेका थिए, फासीवादीहरू अस्थिर बनेका छन्, किनकि उनीहरूले देखिरहेका छन् कि देश चुनावतर्फ अगाडि बढ्दैछ र (हसिनाको) मुद्दा तीव्र गतिमा अघि बढिरहेको छ । उनका अनुसार सरकारले अब आकस्मिक जुलुस र अन्य अवैध जमघटहरूको निगरानी कडाइ गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया