घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

नेपालखोज २०८२ असोज २६ गते १६:००

काठमाडौं । दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् ।

दसैँको घटनस्थापनादेखि आजसम्म उपत्यकामा १७५ सवारीसाधन दुर्घटना भएका र उक्त दुर्घटनामा परी १८८ जना गम्भीर घाइते भएका काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अधिकांश घटना रातिको समयमा दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताए ।

ट्राफिक प्रहरीले सवारीसाधन चालकलाई विशेषगरी रातिको समयमा चलाउँदा सावधानी अपनाउन, मादक पदार्थ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्राका लागि सवारी जाँचलाई समर्थन गर्न आह्वान गरेको छ ।

रातिको समयमा सडक सुनसान हुने, चालकले सावधानी नअपनाउने र कतिपय अवस्थामा नशाको अवस्थामा तीव्र गतिमा गाडी चलाउनेजस्ता कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको प्रवक्ता सुवेदीको भनाइ छ ।

चाडपर्वमा रमाइलो गरेर राति घर फर्कनेको चाप, रमाइलो गर्ने उत्साह र समयको हतारोले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले उपत्यका ट्राफिक प्रहरीले नागरिकलाई अझ बढी सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया