नेपालमा युवा विद्रोहको पाठ तथा राजनीतिक शुद्धीकरणको आवश्यकता

नेपालको राजनीतिक इतिहासमा २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले पुराना राजनीतिक दलहरूलाई मात्र होइन राजनैतिक विश्लेषक,बुद्धिजीवी र आम मानिसलाई गहिरो झट्का दिएको छ । यो आन्दोलनलाई केवल सडक प्रदर्शन मात्र मान्नु भविष्यका लागी अर्को गम्भीर भूल हुन सक्नेछ । यो आन्दोलन युवा पुस्ताको लामो समयदेखिको कुण्ठा, आक्रोश र आशाको विस्फोट थियो नै साथ साथै धमिलो पानीमा माछा मार्न कुरेर बसेका हरूको लागि समेत सुनौलो मौका हुन पुग्यो ।
हजारौँ युवाहरू सडकमा उत्रिएका, हातमा प्लेकार्ड बोकेका, “भ्रष्टाचार मुर्दावाद, नातावाद मुर्दावाद!” नाराको यो दृश्य जनताको दैनिक जीवन, सपना र पीडासँग जोडिएको थियो नै तर भाद्र २४ गतेको सिंहदरबार, अदालतहरू र गाउ गाउका पालिकाका कार्यालयहरू र त्यहाँका ऐतिहासिक दस्ताबेज एक साथ खरानीमा परिणत गर्नु र कारागार तोडी कैदीबन्दि छुटाउनु पछाडिको कारण भने आपराधिक चिन्तन वाट सृजित कुकृत्य बाहेक केही हुन सक्दैन ।
यो आन्दोलनले राजनीति अब किताबी सिद्धान्तहरूमा मात्र सीमित छैन । नेपाली जनताको बदलिँदो सोचले उनीहरूले आफ्नो नेताहरू र उनका परिवारको गतिविधिलाई पनि राम्ररी नियाली रहेका छन् भन्ने कुरालाई छर्लङ्ग देखाइदिएको छ । यो आन्दोलनबाट अबका दिनमा राजनैतिक दलहरूले नेता र पार्टीलाई शुद्धीकरण गरेर राख्न सकेनन् भने, राजनीति र कर्मचारी तन्त्र लाई मर्यादित एवं जनतामा समर्पित हुने गरी रूपान्तरण गर्न सकेनन् भने आगामी समयमा यसको पुनरावृत्ति अवश्यम्भावी छ ।
जेनजी आन्दोलनलाई बुझ्नका लागि यसलाई तथ्यहरूको सूचीबाट बाहिर निकालेर मानवीय कथामा रूपान्तरण गर्न आवश्यक छ। एउटा युवा विद्यार्थी, जसले वर्षौँसम्म पढाइमा मेहनत गरे पनि रोजगारी नपाएर निराश भएको छ र उसले सामाजिक सञ्जालमा आफ्नो कुण्ठा पोखेर यसकै माध्यमबाट रोजगारीको तलासमा हुन्छ तर सरकारले त्यही सञ्जाललाई पनि प्रतिबन्ध लगाउँछ भने उसको मनमा कस्तो विचार स्फुटन हुन्छ होला ? सरकारको यो निर्णय प्रतिबन्ध मात्र नभएर संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हनन समेत हो र यसैले गर्दा यो निर्णयका विरुद्धमा युवाहरूलाई सडकमा उत्रिन बाध्य बनायो ।
आन्दोलनमा भाग लिनेहरू मध्ये धेरै १९९७ देखि २०१२ सम्म जन्मेका सामाजिक न्याय र समानताको पक्षधर जेनजी पुस्ता थिए र उनीहरू डिजिटल युगमा हुर्के बढे र यसमा अभ्यस्त रहेका थिए । राजनीतिक नेताहरूका छोराछोरीहरूले सजिलै अवसर पाउने तर सामान्य युवाले अवसर नपाउने जस्ता असमानतालाई उजागर गरी ‘नेपोकिड्स’ भन्ने अभियान नै चलाए ।
यो आन्दोलनको ट्रिगर सामाजिक सञ्जाल प्रतिबन्ध थियो, तर यसको जड भ्रष्टाचार, बेरोजगारी, शिक्षा प्रणालीको कमजोरी, सरकारी कार्यालयले जनतालाई सेवा प्रवाह गर्दा घन्टौँ लाइन बसेर पनि सेवा नपाउने, प्रविधि प्रयोग गरेर तुरुन्त पाउन सक्ने पासपोर्टलाई पनि जरुरी र साधारण गरी दुई प्रकारले शुल्क असुली गरी नागरिक नागरिक बिच क्लास खडा गर्ने, डिजिटल महसुल भुक्तानीमा अतिरिक्त शुल्क लिने, सवारी चालक अनुमति पत्रको प्रिन्ट कपि लिन महिनौँ कुर्नुपर्ने, कर बुझाउन समेत स्वयम उपस्थित भई दर्शन भेट गर्नु पर्ने जस्ता कुशासन विरुद्ध रहेको थियो ।
युवा शक्ति कति बलियो हुन सक्छ भन्ने कुरा आन्दोलनले सरकार नै ढालिदिए पश्चात् स्पष्ट भएको छ। एक राजनीतिज्ञले त उनीहरूकै कुशासन विरुद्धको विद्रोह वाट जन्म भएको यो आन्दोलनलाई आफ्नो पक्षमा पार्न यो आन्दोलन ‘उन्नत लोकतन्त्रको पक्षमा’ भएको भनेर ओंनरसिप लिने प्रयत्न समेत गरे । यो आन्दोलन केवल आन्दोलन मात्र नभएर नेपाली युवाहरूको समान अवसर, पारदर्शी शासन व्यवस्था र युवा सम्मानको सपना पनि हो ।
प्रमुख दलका युवा नेतृत्वले यो आन्दोलनबाट आफ्नो नेतृत्वलाई यान्त्रिक मात्र नभई मानवीय बनाउन सक्नु पर्दछ । आन्दोलन वाट सिक्नु पर्ने पाठ भनेको भ्रष्टाचार र नातावादको अन्त्य हुनु हो । भ्रष्टाचारले जनताको विश्वास गुमाउँछ । राष्ट्रको शिक्षा प्रणालीबाट युवा शक्तिलाई स्वावलम्बन बन्न नसिकाई बेरोजगार रहनु पर्ने अवस्था सृजना हुन जाँदा त्यो शक्ति रचनात्मक कार्यको बदला विस्फोटक समेत बन्न पुग्छ र जसको ठुलो मूल्य राज्यले चुकाउनु पर्दछ ।यस आन्दोलनले राज्यले युवाहरूसँग भावनात्मक रूपमा जोडिन बेरोजगारी, शिक्षा र अवसरका विद्यमान असमानतालाई सम्बोधन गर्न सक्नु पर्दछ भन्ने गहिरो पाठ सिकाएको छ ।
निश्चय नै सामाजिक सञ्जाल माथिका फेक न्युज , हेट स्पीच र आपराधिक मनोवृत्तिले प्रसारण भई रहेका सामाग्री हरू हानिकारक छन् यी माथि निगरानी बढाउने, गैर कानुनी सामाग्री प्रसारणमा निगरानी गर्न प्रविधिको प्रयोग गर्नुपर्नेमा सो नगरी सञ्जाल नै बन्द गर्दा नागरिकको अभिव्यक्तिको माध्यम र राजनीतिलाई डिजिटल युगसँग जोड्ने सञ्जाल अवरुद्ध हुन पुगी अभिव्यक्ति स्वतन्त्रताको माथि सेन्सर सीप हुन पुग्यो जसले विद्रोह निम्त्यायो ।
जेनजी आन्दोलन एउटा चेतावनी हो यदि दलहरूले आफूलाई समय सापेक्ष रूपमा परिवर्तन नगरे आगामी दिनहरूमा थप विद्रोह समेत हुन सक्दछ । लोकतन्त्र जीवित रहन दलहरू युवा सपना, भावना र न्यायसँग जोडिनुपर्छ भनी यो आन्दोलनले पाठ सिकाएको छ । अब समय आएको छ, दलहरूले आफूलाई नयाँ रूपमा प्रस्तुत गरेर नेपाललाई उज्ज्वल भविष्यतर्फ लैजानु पर्दछ र युवा जेनजीले पनि यो आन्दोलन परिवर्तनको लागि हो आपराधिक तत्त्वको संरक्षणको लागि होइन भनी देखाउन आन्दोलनका क्रममा भएका घुस पैठ भई आपराधिक गतिविधिमा संलग्न हुनेहरूलाई कानुनी कठघरामा उभ्याउन सक्नु पर्दछ । अन्यथा यो आन्दोलनले अर्को प्रति आन्दोलन जन्माउने छ र नेपाल प्रत्येक दश वर्षमा एउटा आन्दोलन गर्ने मुलुकको रूपमा इतिहासमा अङ्कित हुन पुग्नेछ ।








प्रतिक्रिया