अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

नेपालखोज २०८२ असोज २९ गते १५:०४

काठमाडाैं । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ ।

प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्दैँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए ।

‘पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ’, उनले भने ।

उनले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्छौं भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनमा घुसपैठ भएर समाजले पचाउन नसक्ने र २१औँ शताब्दीमा नसुहाउने खालको अपराधिक काम भएको भन्दै त्यसलाई निरुत्साहित गर्दै व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए ।

पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवद्र्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राखे । फ्लोरिकल्चर एसोसिएनि नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन् । प्रदर्शनीमा ४० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया