समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः संयोजक दाहाल

नेपालखोज २०८२ असोज ३० गते १२:२४

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

संयोजक दाहालले भने, यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट सुरु गर्छौँ, सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ आफूहरू अघि बढेका छौँ । सामाजवादी मोर्चामा रहेका दलहरूबीच एकता केही दिनमा हुने भन्दै उनले यो एकताले राजनीतिक दलहरूको ध्रुवीकरणको सुरुआत गर्दै राजनीतिक शक्ति सञ्चय गरी समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता एमालेसम्म पुगेर रोकिने उनको भनाइ छ ।

संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सङ्गठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’को सङ्केतका रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने धारणा राखे । उनले भने, युवाहरूले भ्रष्टाचार विरोधी माग उठाएका छन् । अहिलेको पुस्ताले भ्रष्टाचार अन्त्य र सुशासनको मार्ग खोज्नु गौरवको विषय हो ।

प्रतिक्रिया