बुधबार, पुष ९, २०८२

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

नेपालखोज २०८२ कार्तिक ९ गते १२:१८

काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् ।

यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी-ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले उक्त विज्ञापनलाई ‘नक्कली र भ्रामक’ भन्दै क्यानाडासँगका सबै व्यापार वार्ता दुई दिनअघि नै समाप्त गरेका थिए ।

ओन्टारियो प्रान्तको विज्ञापनमा सन् १९८७ मा राष्ट्रपति रेगनले दिनुभएको व्यापारसम्बन्धी रेडियो सम्बोधनका अंशहरू प्रयोग गरिएको थियो । उक्त सम्बोधनमा रेगनले विदेशी आयातमा उच्च भन्सार शुल्क लगाउँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएका थिए ।

रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरीको आधिकारिक वेबसाइटमा उपलब्ध भाषणसँग मेल खाने उद्धरणमा भनिएको छ, ‘उच्च भन्सार शुल्कले विदेशी देशहरूको प्रतिशोध निम्त्याउँछ र गम्भीर व्यापार युद्धको रूप लिन्छ ।’

यसैबीच, रोनाल्ड रेगन फाउन्डेसनले ओन्टारियो सरकारले ‘चयनात्मक अडियो र भिडियो’ प्रयोग गरेको आरोप लगाउँदै कानूनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ ।

विज्ञापन विवादबीच बेसबलको विश्व शृङ्खलामा क्यानाडाको टोली टोरन्टो ब्लू जेसले अमेरिकी टोली लस एन्जलस डोजर्ससँग प्रतिस्पर्धा गरिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा ब्लू जेसले डोजर्सलाई ११-४ ले पराजित गरेको थियो ।

ओन्टारियो सरकारले सोमबार आपत्तिजनक विज्ञापन फिर्ता लिने र वार्ता पुन: सुरु गर्न तयार रहेको जनाएको थियो, तर शनिबार राति दोस्रो खेलको प्रसारणका बेला उक्त विज्ञापन फेरि देखाइएको थियो ।

राष्ट्रपति ट्रम्पका विश्वव्यापी कर नीतिहरू-विशेषगरी स्टिल, एल्युमिनियम र अटो उद्योगमा-क्यानाडाको अर्थतन्त्रका लागि निकै गम्भीर साबित भएका छन् । यी नीतिका कारण क्यानाडामा रोजगारी गुम्ने र व्यवसायहरूमा दबाब बढ्ने अवस्था आएको छ ।

हाल संयुक्त राज्य अमेरिका र क्यानाडा युएसएमसिए भनिने उत्तर अमेरिकी व्यापार सम्झौताअनुसार चलिरहेका छन्, जसले दुवै देशबीचको करिब ८५ प्रतिशत सीमापार व्यापार करमुक्त बनाएको छ ।

तर बुधबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी भन्सार शुल्क ‘ग्रेट डिप्रेसन’ को समयपछिकै उच्चतम स्तरमा पुगेको टिप्पणी गरेका थिए ।

आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनका अवसरमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री कार्नी दुवै सहभागी हुने कार्यक्रम छ, तर ट्रम्पले उनीलाई भेट्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया